बोमलाल गिरी
नवलपुर, असार ३१ गते । बरचुली मावि कक्षा ६ मा अध्ययनरत देवचुली–१७ बरटाँडीकी सजनी तामाङको उमेर भर्खर ११ वर्ष भयो । उनको शरीरको उचाइ तीन फिट मात्र छ । सुन्दा अचम्म लाग्न सक्छ, सजनीकै चमत्कारिक प्रदर्शन र गोल मद्दतमा १६ वर्ष मुनिको जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगितामा उनको टिम देवचुली नगरपालिका प्रथम भयो । र ५० हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफि उचाल्यो ।
सजनीले त्यतिबेलासम्म कतैबाट प्रशिक्षण लिएकी थिइनन् न त प्रतियोगितामा सहभागिता नै जनाएकी थिइन् । देवचुलीको कट्टाँडीमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता भइरहँदा सजनीले एक कुनामा फुटबल खेलिरहेको दृश्य प्रशिक्षक बिमल क्षेत्रीको नजरमा पर्यो ।
त्यसपछि उनले सजनीलाई प्रशिक्षणमा सहभागि हुन आग्रह गरे । सानी मान्छेलाई दैनिक झण्डै दुई किलोमिटर हिँडेर बरटाँडीबाट फारम आउन पनि गाह्रो थियो । तर अन्य सिनियर खेलाडीले उनलाई आफ्नै मोटरसाइकलमा लिएर प्रशिक्षणमा सहभागि गराउन थाले ।
‘‘अरु खेलाडीलाई धेरै सिकाउन पथ्र्यो, उनलाई थोरै तरिका मात्र सिकाए पुग्थ्यो । छोटो समयमै धेरै सुधार हुन थाल्यो,’’ प्रशिक्षक क्षेत्रीले भने, ‘‘राम्रो गाइड र राम्रो कोच पाउन सके उनमा धेरै ठूलो प्रतिभा छ जस्तो लाग्यो, हुन पनि उनले पहिलो म्याचमै आफ्नो कला देखाइन् र टिमलाई जिताइन् ।’’
उनको उचाईका बारेमा अलि चिन्ता भए पनि किशोरीको उमेर १६, १७ वर्षसम्म बढ्ने भएकाले उचाई बढ्नेमा प्रशिक्षक क्षेत्री ढुक्क छन् । ‘‘उनको फुटवर्क, स्किल र स्टामिना सबैभन्दा राम्रो पक्ष हो, प्राक्टिसमा थाकेको महसुस कहिल्यै हुँदैन, ९० मिनेको खेलमा उनी पुरै समय मैदानमा बिताउँछिन्,’’ प्रशिक्षक क्षेत्रीले भने, ‘‘यति सानो उमेरको मान्छेमा यो क्षमता ! यो त गड गिफ्ट नै हो जस्तो लाग्छ, कसैलाई धेरै सिकाउँदा पनि केही हुन्न, उनलाई थोरै सिकाउँदा पनि धेरै सिक्छिन् ।’’
जिल्लास्तरीय अन्तरपालिका अन्डर–१६ प्रतियोगितामा देवचुली नगरपालिकाको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेकी सजनीलाई नगरपालिका वडा नं १७ का अध्यक्ष गणेशप्रसाद चालिसे, वरचुली माविका प्रधानाध्यापक चन्द्रदेव तिवारी, फाराम खेलकुद विकास समितिका पदाधिकारीले उनलाई विद्यालयमै पुगेर सम्मान गरे ।
एउटै खेलले उनको चर्चा यति चुलियो कि उनको अन्तर्वाता लिन देशका विभिन्न कुनाबाट युट्युबर र कन्टेन्ट क्रियटर नआएको दिन हुँदैन । हामी सजनीको घर पुग्दा उनी साउदी अरबमा रहेका बुवासँग भिडियो कलमा कुरा गर्दै थिइन् । हामी पुग्ने बित्तिकै उनले घरमा पत्रकार आएको जानकारी गराइन् । भाइरल हुनु खहरेको भेल जस्तै ठानेर होला कतारमा रहेका सजनीका बुवा र कुवेतमा रहेकी उनीकी आमाले अव युट्युबरलाई अन्तरर्वाता नदिने घरमा रहेकी सजनीकी हजुरआमा सीता र अन्य शुभचिन्तकलाई भनिरहेका छन् ।
त्यसैले हामी पुगेको केही बेरमै उनका बुवाले आफ्नो नाता पर्ने फिफा रेफ्रि जितबहादुर तामाङलाई फोन गरेर आफ्नो घरमा जान भने । केही बेरमै जितबहादुर घर आएर हाम्रो बारेमा सोधखोज गरेपछि बल्ल सजनीसँग हामीले कुरा गर्ने अनुमति पायौं ।
भर्खरै प्रशिक्षण लिएर घर आइपुगेकी सजनीले सानैदेखि फुटबलमा रुचि भएको र खेल हेरेरै खेल्न थालेको बताइन् । राइट विङ्सबाट खेल्ने रजनी प्रिति राई र लियोनल मेस्सीलाई आफ्नो प्रेरणाको श्रोत मान्छिन् । पढाईमा पनि सधै प्रथम हुने सजनीलाई विद्यालयले पनि उत्तिकै हौसला र प्रेरणा दिएको उनको भनाइ छ ।
सर्वत्र चर्चामा रहेकी उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले घरमै पुगेर भेटी थप हौसला दिए । जुत्ता, मोजा, जर्सी लगायत भौतिक सहयोग पनि गरे । ‘‘तिम्रो खेल देखेर म अत्यन्त प्रभावित भएको छु, स्कुल र जिल्लाको नाम राख्नु पर्छ, अनि तिमी देशको लागि खेल्नु पर्छ, धेरै मेहनत गर्नु, खेललाई निरन्तरता दिनु,’’ थापाले प्रोत्साहन दिँदै भने । उनले थप प्रशिक्षणका लागि काठमाडौं गएमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि सजनीले सुनाइन् ।
एन्फा रेफ्रि जित बहादुर तामाङले सजनीको खेललाई नजिकबाट नियालेको र उत्कृष्ट प्रदर्शन गर्ने गरेको बताए । ‘‘चोरमारामा भएको गेम मैले नै खेलाएको थिए, १५/१६ वर्षका खेलाडीलाई छलाएर गोल गर्दा म मात्र होइन सबै दर्शक चकित परेका थिए,’’ रेफ्रि तामाङले भने ।
सजनीलाई अध्ययन र प्रशिक्षणका लागि काठमाडौंका विभिन्न विद्यालय र क्लवहरुबाट पनि प्रस्ताव आएको तामाङले जानकारी दिए । यसबारेमा उनको परिवार, जिल्ला खेलकुद विकास समिति, विद्यालय लगायतसँग परामर्श गरेर काठमाडौं पठाउने बारे छलफल गर्ने उनको भनाइ छ ।
जिल्ला खेलकुद विकास समितिले पनि सजनीको खेलको स्तर बृद्धि गर्नका लागि आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएको छ । समितिका कोषाध्यक्ष राजु चापागाईले राज्यका विभिन्न निकाय र नीजि क्षेत्रसँग समन्वय गर्दै स्तरबृद्धिका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
यसरी फुटबलप्रति कलिला मुनाहरु पलाउँदै गर्दा एन्फा लिनम्बनमा परेको घटनाले भने सजिनालाई खिन्न बनाएको छ । तर छिट्टै निलम्बर फुकुवा भएर एन्फाले खेल गतिविधिलाई निरन्तर अगाडी बनाउनेमा उनी आशावादी छिन् ।











