मध्यविन्दु प्रादेशिक अस्पतालमा सेवा विस्तार, अस्पताललाई अत्याधुनिक बनाउने योजना

नवलपुर, साउन १ गते । मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुरले सेवा विस्तार गरेको छ । अस्पतालले शुक्रबारदेखि आधुनिक उपकरणसहित १० बेडको तीन वटा शल्यक्रिया कक्ष, शल्यक्रिया गरेका बिरामीलाई राख्ने ‘पोष्ट अपरेटिङ केयर युनिट’, विशेष नवजात शिशु स्याहार इकार र नवराज शिशु सघन उपचार कक्षको शुभारम्भ गरेको हो ।

अस्पतालले उपचार र प्रशासनिक सबै काम नयाँ भवनबाट सुरु भएको जनाएको छ । अथक मेहनत र सबैको प्रयासले यो सफल भएको अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताए ।

यस्तै सुधार तथा अस्पताललाई थप सुविधासम्पन्न बनाउने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महत्वाकांक्षी योजना पनि सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालले सेवा विस्तार, पूर्वाधार विकास र अत्याधुनिक स्वास्थ्य उपकरण खरिदलाई प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको जनाएको हो ।

डा आचार्यका अनुसार हाल १०० शय्याको स्वीकृति प्राप्त अस्पतालमा वार्षिक रूपमा बिरामीको चाप निरन्तर बढिरहेको छ । बढ्दो सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि नयाँ कार्यक्रम प्रस्ताव गरिएको उनको भनाइ छ ।

अस्पतालले चिकित्सकलाई २४सै घण्टा उपलब्ध गराउने उद्देश्यले चिकित्सक आवास गृह निर्माण गर्ने योजना अघि सारेको छ । यसका लागि करिब ८ करोड रुपियाँ बजेट प्रस्ताव गरिएको छ । त्यस्तै अस्पताल परिसरमा चमेना गृह निर्माण, अस्पताल पुग्ने दुवै पहुँचमार्ग ढलान तथा कालोपत्रे, अस्पताल भवनमा लिफ्ट जडान, प्रयोगशाला सेवा विस्तार गर्ने योजना पनि समावेश गरिएको आचार्यले जानकारी दिए ।

अस्पतालको सबैभन्दा महत्वपूर्ण योजनामध्ये सीटी स्क्यान मेसिन खरिद पनि रहेको छ । हाल सीटी स्क्यान सेवा लिन बिरामीहरू भरतपुर वा बुटवल जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अस्पतालले आफ्नै परिसरबाट उक्त सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । साथै ट्रमा केयर युनिट विस्तार र डेन्टल पानोरामिक एक्स–रे प्रणाली खरिद गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

अस्पतालले आगामी आर्थिक वर्षदेखि विपन्न गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्ड (युएसजी) सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यससँगै थाइराइड शल्यक्रिया सेवा (इएनटी) सेवा विस्तारका लागि अडियोलोजी युनिट स्थापना, स्तन उपचार केन्द्र सञ्चालन तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणालीको विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ ।

अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा अस्पतालबाट सेवा लिने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ । बहिरङ्ग (ओपीडी), आकस्मिक सेवा, भर्ना हुने बिरामी, शल्यक्रिया, प्रयोगशाला परीक्षण तथा एक्स–रे सेवामा निरन्तर वृद्धि भएको अस्पतालले जनाएको छ । यसले अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको अस्पताल प्रशासनको दाबी छ ।

हाल अस्पतालमा सरकारी स्वीकृत १०० शय्या सञ्चालनमा रहेका छन् । तीमध्ये आकस्मिक, मेडिसिन, शल्यक्रिया, अर्थोपेडिक, बालरोग, प्रसूति, आइसोलेसन, फिजियोथेरापी तथा डायलाइसिस सेवाका लागि छुट्टाछुट्टै शय्या व्यवस्था गरिएको छ ।

२०६४ सालमा १५ शय्याको सामुदायिक अस्पतालका रूपमा स्थापना भएको मध्यविन्दु अस्पताल संघीयता कार्यान्वयनपछि गण्डकी प्रदेश सरकारअन्तर्गत आएको हो । त्यसपछि ५० शय्याबाट स्तरोन्नति हुँदै हाल १०० शय्याको प्रादेशिक अस्पतालका रूपमा सेवा प्रदान गर्दै आएको छ ।