बोमलाल गिरी
नवलपुर, भदौ १३ गते । रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या बढी रहेको छ । हजारौं वेपत्ता छन् । घाइतेहरुको अवस्था पनि त्यस्तै छ । बाढीले बगाएर ल्याएकामध्ये एक सय ५० भन्दा बढीको शव नवलपुरमा मात्र भेटिएका छन् । शव भेटिने क्रम तिब्र बनेको छ । सोही अनुसार प्रहरीले खोजी कार्यलाई पनि निरन्तरता दिइरहेको छ ।
आफन्तहरु शव पहिचानका लागि विभिन्न अस्पताल धाइरहेका छन् । क्षतविक्षत् अवस्थामा भएकाले शव पहिचान गर्न आफन्तहरुलाई नै कठिन भइरहेको छ । निरास मुद्रामा अस्पताल धाइरहेकाहरु थोरै मात्रामा आफन्त पहिचान गर्न सक्ने अवस्था रहेपनि धेरैले शव नभेटेर वा भेटिएकाहरु मध्येबाट पहिचान गर्न नसकेर निरास हुँदै फर्किरहेका छन् ।
रजहरबाट मध्यविन्दु प्रादेशिक अस्पतालमा भान्जा र नातीको शव खोज्न आएका आश बहादुर बोटे हातमा खोपिएको ट्याटु भएका व्यक्तिको शव छ रे भन्ने सुनेर आफ्नै भान्जा हुन् कि भनेर आएका थिए । तर उनले आफ्ना भान्छे भेट्न सकेनन् । ‘‘नवलपुकमा शव राखिएका सबै ठाउँमा घुमिसक्यौं, तर भेट्न सकिएन,’’ बोटेले भने, ‘‘अव चितवन जादैछौं ।’’
बोटे जस्तै विभिन्न जिल्लाबाट शव पहिचानका लागि शव गृह धाउनेहरुको भिड लागेको छ । कपिल्बस्तुबाट रसुवाको हाइड्रपावरमा कामगर्न गएका भाइ खोज्न गैँडाकोट नगर अस्पताल पुगेका अनिल थापासहितको ठूलो टोली पनि शव नभेटि निरास हुँदै फर्कदै थियो ।
कतिपय टाढा भएका आफन्तहरुले जिल्लामै भएका आफन्तलाई फोटो पठाएर पहिचान गरिदिन आग्रह गरिरहेका छन् । नेपाल बार एसोसियशन नवलपुरका अध्यक्ष गणेश अधिकारी त्यस्तै आफन्त खोज्न फोटोसहित मध्यविन्दु प्रादेशिक अस्पताल पुगेपनि फेला पार्न नसकि फर्किए ।
छातीमा खोपिएको ट्याटुकै आधारमा हेटौडा उपमहानगरपालिका उमेश स्याङ्बोले आफ्ना भतिजा सुमन गोलेको शव लगातार तीन दिनको प्रयासमा पहिचान गर्न सफल भए । एक सय ५४ जनाको शव संकलन हुँदा अहिलेसम्म गोलेको मात्र पहिचान खुलेको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीले आफन्तलाई शव पहिचान गर्न सहज होस् भनेर शवको फोटो खिचेर शव गृहको बाहिर पट्टि टाँसेको छ ।
शव राख्नै सकस
शवको पहिचानमा कठिनाई भएको र कतिपयको शव दावी गर्न आउने आफन्तसमेत नभएकाले संकलन भइसकेका शव तत्काल हस्तान्तरण गर्न सक्ने अवस्था पनि नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
‘‘कतिपय विदेशी छन्, कतिपयका मानव अंग मात्र फेला परेका छन्, ती शवलाई सामुहिक अन्त्येष्टि गर्न पनि मिल्दैन,’’ पण्डितले भने, ‘‘त्यस्ता शव लामो समयसम्म राख्नु पर्ने हुन्छ, तर संख्या धेरै हुँदा समस्या भइरहेको छ ।’’
यति ठूलो विपत्ति आउला भन्ने कसैले कल्पना समेत नगरेकाले जिल्लामा शव गृह नहुँदा व्यवस्थापन कार्य कठिन बन्दै गएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताए । चोटपटक लागेकाले जताततै शवहरु दुर्गन्धिन हुन थालेका छन् ।
स्थानीय प्रशासनले कावासोती–१६ डण्डामा रहेको अंकुर आदर्श सामुदायिक वनको हललाई एसी जडान गरेर अस्थायी शव गृह बनाएको छ । शव राख्नका लागि माइनस दुई तीन डिग्रिभन्दा तलको तापक्रम आवश्यक हुन्छ । तर कोठा बन्द गरी चारपाँचवटा एसी चलाउँदा पनि १० डिग्रिभन्दा तापक्रम तल नझर्ने भएकाले यो दिर्घकालिन व्यवस्थापन हुन नसक्ने प्रहरी नायव उपरीक्षक पण्डितको भनाइ छ ।
त्यसैले जिल्ला प्रशासन कार्यालयले आफ्ना आफन्त हराइरहेका परिवारहरूलाई पहिचानका लागि नजिकैको सुरक्षा निकाय वा नगर अस्पतालहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।








