नवलपुरमा रहेका शव कावासोती र देवचुलीका वनमा व्यवस्थापन गरिने

बोमलाल गिरी

नवलपुर, भदौ १३ गते । भोटेकोशीको विनाशकारी बाढीमा परी नवलपुरमा संकलन भएका सबै वेवारिसे शव वनमा व्यवस्थापन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार पहिचान हुन नसकेका शवलाई डिएनएका लागि नमुना संकलन गरी संकेत नम्बर राखेर व्यवस्थापन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साधन स्रोतको अभावले लामो समयसम्म क्षतविक्षत भइ वेवारिसे अवस्थामा रहेका शव राख्न नसकिने र त्यस्ता शव राख्दा झन दुर्गन्धित भइ अर्को समस्या आउन सक्ने भएकाले गाडेर व्यवस्थापन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए ।

विषम् अवस्थालाई मध्यनजर गर्दै पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम शव व्यवस्थापन गर्ने निर्णय भएको प्रजिअ उपाध्यायले जानकारी दिए । त्यसका लागि कावासोती र देवचुलीका दुई सामुदायिक वनमा व्यवस्थापन गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हालसम्म १८४ वटा शव संकलन भएका छन् । जसमध्ये ६३ पुरुष, ४४ महिला, २३ बालबालिका र ५४ वटा अन्य शवका टुक्रा रहेका छन् । तिमध्ये तीन वटा शव मात्र आफन्तलाई बुझाइएको छ भने बाँकी शव विभिन्न स्वास्थ्य संस्था र होल्डिङ सेन्टरमा राखिएको छ ।

प्रशासनका अनुसार सबै शवको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ । यसबाट भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराउन सहज हुने अपेक्षा गरिएको छ ।

शोकको यस विषम् परिस्थितिमा गरिएको निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।