नवलपुरवासीका लागि जनस्वास्थ्य कार्यालयको ७ बुँदे अपिल

नवलपुर, भदौ १४ गते । भदौ १० गते आएको रसुवा बाढीका कारण स्वास्थ्य जोखिम निम्तिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले सात बुँदे अपिल जारी गरेको छ । बाढीले बगाएर ल्याएका मानव शव, चौपाया तथा अन्य जनावर र जीवजन्तुका कारण विभिन्न किसिमका सरुवा रोग फैलिनसक्ने भएकाले सतर्क रहन कार्यालयले सबैसित अनुरोध गरेको हो ।

कार्यालयले प्रदुषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा जलीय जीवको सेवन नगर्न भनेको छ । प्रदुषित पानीमा पौडी नखेल्न, प्रदुषित पानीका कारण आउँ, हैजा, टाईफाईड, हेपाटाइटिस ए र इ जस्ता झाडापखालाजन्य रोगहरुको जोखिम बढ्न सक्ने हुँदा पानी शुद्दिकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

खाना राम्रोसँग पकाएर मात्र खान, काँचो तथा पकाएको खाना छुट्टाछुट्टै राख्न, बाढीको पानीमा डुबेको, दूषित, कुहिएको वा गन्हाएको खाद्य पदार्थ सेवन नगर्न कार्यालयको अनुरोध छ । त्यस्तै डेंगु, जापानिज इन्सेफ्लाइटिस लगायतका लामखुट्टेबाट सर्ने रोगहरु तथा सर्पदंशको जोखिम बढ्न सक्ने हुँदा घर वरिपरि पानी जम्न नदिन, झुल प्रयोग गर्न, लाम बाहुले कपडा लगाउन, राती हिड्दा टर्च लाइटको प्रयोग गर्न तथा सुत्नुअघि विस्तरा जाँच गर्ने कुरामा विशेष ध्यान दिन कार्यालयको अनुरोध छ ।

प्राकृतिक विपदपछी मनोसामाजिक समस्याहरु समेत बढ्ने गरेको देखिएकाले आफ्नो मानसिक स्वास्थ्यको विशेष ख्याल राख्न भनिएको छ । नदि तथा खोला किनारमा मानव शव तथा मरेका जीवजन्तु फेला परे तुरुन्तै सम्बन्धित स्थानीय तह तथा नेपाल प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।