काठमाडौं । १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला-२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यस पटक अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
प्रदर्शनीको बारेमा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए ।









