कावासोती नगरपालिकाको ९९ करोड १० लाख बजेट : शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगर उपप्रमुख फूलकुमारी थनेतले आज नगरसभाको १९औँ अधिवेशनमा बजेट प्रस्तुत गर्दै सीमित स्रोत–साधनका बीच नगरको समग्र विकासका लागि शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, पर्यटन र सुशासनलाई उच्च प्राथमिकता दिइएको बताइन्।

बजेटको मूल आकर्षण शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेको छ भने पूर्वाधार विकास र डिजिटल सुशासनलाई पनि विशेष जोड दिइएको छ। नगरपालिकाले “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटकीय शहरः पूर्वाधारयुक्त औद्योगिक समुन्नत कावासोती नगर” भन्ने दीर्घकालीन लक्ष्यलाई बजेटमा आत्मसात् गरेको छ।

शिक्षा क्षेत्रमा २ करोड ४५ लाख
शैक्षिक गुणस्तर अभिवृद्धि, “मेरो विद्यालय” कार्यक्रम, प्रतिभा सम्मान, स्थानीय पाठ्यपुस्तक प्रकाशन, छात्रवृत्ति तथा युवा कार्यक्रमका लागि २ करोड ४५ लाख विनियोजन गरिएको छ। विशेषगरी अटिजम भएका बालबालिकाको पहिचान गरी विशेष शिक्षाको सम्भाव्यता अध्ययन गर्ने योजना पनि अघि सारिएको छ।

कृषि र पशुपालनमा विशेष जोड
कृषि आधुनिकीकरण, हाते ट्र्याक्टर तथा औजार सहयोग, माटो स्वास्थ्य सुधार, जैविक विविधता संरक्षणका लागि १ करोड ५० लाख छुट्याइएको छ। पशुपालनतर्फ पाडा प्रवर्द्धन, कृत्रिम गर्भाधान, रेबिज नियन्त्रण, दूध उत्पादक किसानलाई अनुदान तथा माछापालनका लागि ५४ लाख १५ हजार विनियोजन गरिएको छ। उद्यमशीलता तथा सीपमूलक तालिमका लागि ३१ लाख बजेट व्यवस्था गरिएको छ।

स्वास्थ्य सेवामा १ करोड ७४ लाख
“म स्वास्थ्य, मेरो समुदाय स्वास्थ्य” कार्यक्रम, मानसिक स्वास्थ्य प्रवर्द्धन, आत्महत्या रोकथाम, शून्य सुत्केरी होम डेलिभरी अभियान, ज्येष्ठ नागरिक घरदैलो सेवा तथा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि यो बजेट छुट्याइएको छ। विपन्न नागरिकको औषधि उपचारमा पनि सहयोग गरिनेछ।

पूर्वाधार विकासमा ठूलो लगानी
नगरस्तरीय सडक स्तरोन्नति, कालोपत्रे, भवन, नाला, पार्क, खेलकुद मैदान, कबर्डहल तथा धार्मिक/सामाजिक पूर्वाधारका लागि ८ करोड ५४ लाख विनियोजन गरिएको छ। वडास्तरीय पूर्वाधार तथा सामाजिक विकास कार्यक्रमका लागि १२ करोड १२ लाख छुट्याइएको छ। यस्तै केरुङ्गे खोलामा तटबन्ध निर्माणका लागि १ करोड र फोहोरमैला व्यवस्थापनका लागि १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ।

पर्यटन, वातावरण र विपद् व्यवस्थापन
आन्तरिक पर्यटन प्रवर्द्धन, नेचर गाइड कार्यक्रम, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणलाई निरन्तरता दिइएको छ। वन, वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गत घाट, बाल उद्यान, सामुदायिक पार्क र सीसी क्यामेरा जडानका लागि ३० लाख विनियोजन गरिएको छ

सामाजिक सुरक्षा, डिजिटल सेवा र सुशासन
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारी अभिमुखीकरण, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शका लागि ३१ लाख छुट्याइएको छ। महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति, द्वन्द्वपीडित, ज्येष्ठ नागरिक, बालबालिका तथा युवाको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।

पोषणमैत्री स्थानीय शासन तथा सुनौला हजार दिनका महिलाका लागि आयआर्जन कार्यक्रममा २५ लाख ५० हजार विनियोजन गरिएको छ।सार्वजनिक सेवालाई Faceless, Paperless and Cashless बनाउने नीति अघि सारिएको छ। सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, कर शिक्षा तथा कृत्रिम बुद्धिमत्ता (AI) तालिमका लागि १५ लाख बजेट छुट्याइएको छ।

यसै गरि नगरपालिकाकाे आन्तरीक श्राेतबाट ७ कराेड ५० लाख, बित्तिय समानीकरण अनुदान नेपाल सरकारबाट १७ कराेड २६ लाख, राजस्व बाँडफाट संधियसरकारबाट १५कराेड ४० लाख, ससर्त अनुदान संघीय सरकारबाट ४२ कराेड ३३ लाख, विशेष अनुदान नेपाल सरकारबाट २ कराेड ५० लाख, समपुरक अनुदाननेपाल सरकारबाट ३० लाख, बित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट ४० लाख , समपुरक अनुदान प्रदेश सरकारबाट २ कराेड २८ लाख, सवारी साधन कर प्रदेशसरकारबाट  २ कराेड २६ लाख, विशेष अनुदान प्रदेश सरकारबाट ४० लाख, समपुरक अनुदान प्रदेश सरकारबाट ३० लाख, घरजग्गा रजिस्ट्रेसनबाट ४ कराे , बिज्ञापन करबाट ६ लाख ६ हजार, नदी जन्य पदार्थ बिक्री राजस्व बाडफाड स्थानियबाट ३ कराेड ९१ लाख र लागत सहभागीबाट १ कराेड गरि कुल ९९ कराेड १० लाख अनुमानित आय प्रात हुने उल्लेख गरिएकाे छ ।

यसैगरि बजेटमा ब्ययतर्फ प्रशाशनिक खर्च तर्फ २२ कराेड १८ लाख,मर्मत संम्भार काेषमा ९० लाख,  समपुरक काेषमा २ कराेड,  बिपत ब्यवस्थापन काेषमा ९० लाख, नगर स्तरीय याेजना तथा कार्यक्रममा १३ कराेड ७८ लाख , वडा स्तरीय याेजना तथा कार्यक्रममा १२ कराेड ९२ लाख, ससर्त अनुदान नेपाल सरकारबाट ४२ कराेड ३० लाख ,विशेष अनुदान नेपाल सरकार र प्रदेश सरकारबाट २ कराेड ९० लाख , समपुरक अनुदान ६०लाख २२ हजार र जनसहभागीताबाट १ कराेड ब्यय हुने गरि बजेट बिनियाेजित गरिएकाे छ ।