सरकारले तोक्यो उखुको मूल्य, क्विन्टलमा २० रुपैयाँले बृद्धि

काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य तोकेको हो ।

उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको र उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार प्रस्तावित समर्थन मूल्य ५३५ थियो । बैठकले पाँच रुपैयाँ बढाएर ५४० रुपियाँ समर्थन मूल्य तोकेको हो । जुन गत बर्षको तुलनामा २० रुपैयाँ बढी हो ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो । ढुवानी बापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले बृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

कृषिमन्त्री ज्वालाकुमारी साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो । ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले दिएको अनुदान हो ।