काठमाडौं । आज माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन। यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गर्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए।
दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार प्रशारणमा रोक लगाइएको थियो।
राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो। राजाको उक्त कदम धेरै दिन टिक्न सकेन । ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो। दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र जनआन्दोलन चर्कियो।
२०६२–०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ। २०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भएको थियो।
त्यसपछि माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए। त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो।









