झण्डै पाँच महिनापछि पानी परेपछि किसान हर्षित

पोखरा । झन्डै पाँच महिनापछि वर्षा भएपछि पर्वतका किसान खुशी भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका हुन् ।

खेतबारीमा लगाइएको गहुँ, तोरी, आलु, फापर, जौलगायत तरकारीहरुको उत्पादन न्यून हुँदा निराश बनेका कृषकहरु बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका हुन् ।

सिँचाइको सुविधा भएका ठाउँका कृषकहरुभन्दा सिँचाइको सुविधा नभएका ठाउँका कृषकहरुलाई ठूलो राहत मिलेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्षा भएपछि कृषकहरुलाई खेतबारी जोतखन गर्न र बर्खे बाली लगाउन सहज भएको छ ।

गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए ।