भारतबाट दूध आयात खोल्न सिफारिस : तर दूध सङ्कलन नै नभएको किसानको गुनासो

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात खोल्न सिफारिस गरेको छ । बोर्डले दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सुझाव दिएको हो ।

झोल तथा धुलो दूध र बटरको अभाव देखाएर केही समयका लागि भारतबाट आयात गर्न माग गर्दै डेरी उद्योगीले मन्त्रालयमा निवेदन दिएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई साउन मसान्तसम्म आयात खुलाउन सकिनेगरी बोर्डले तयार पारेको प्रतिवेदन बुझाइसकिएको छ ।

मागअनुसार दूध आपूर्ति हुन नसकेको भन्दै दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात ३ महिनाका लागि खोल्न बोर्डले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।तर किसानहरू भने गाउँगाउँबाट दूध नै संकलन नभएको बताउँछन् । कञ्चनपुरका किसान नवराज जोशीले हलोखबरलाई दिएको जानकारीअनुसार गाउँमा किसानले पर्याप्त दूध उत्पादन गरिरहेका छन् ।

तर उत्पादित दूध भने संकलन नै भइरहेको छैन । जसका कारण किसानहरूले उत्पादन गरेको दूध खेर गइरहेको छ । किसानबाट दूध संकलन गर्न नसकेको अवस्थामा दूधको अभाव देखाएर भारतबाट आयात गर्नुपर्ने भन्दै सरकारलाई सुझाव दिइनु दुखद् भएको उनले बताएका छन् । आफ्नो नाफाका लागि मात्र व्यवसायीहरूले सोच्ने गरेको उनको भनाइ छ । भारतबाट सस्तोमा दूध ल्याएर नेपालमा महँगोमा बेचेर केही व्यक्तिहरूले नाफा कमाइरहेको उनले बताए ।