हुप्सेकोटका महिलाले बेचे एक करोडका खसीबोका

नवलपुर, असोज २२ गते । नवलपुरको हुप्सेकोटमा रहेको लेकबेशी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दशैं लक्षित गरेर धमाधम खसी बोका विक्री गरिरहेको छ ।

गाउँघरका अन्य मानिसलाई दशैको किनमेल, घर आँगन सरसफाई गर्न, रंग रोगन गर्न भ्याई नभ्याइ भएजस्तै हुप्सेकोटका महिलाहरुलाई भने अहिले दशैंको लागि खसी बोका विक्री गर्न भ्याई नभ्याइ भएको छ ।

गाउँबाट खसीबोका खरीद गरेर हुप्सेकोटको झ्यालबासमा रहेको लेकबेशी सामाजिक महिला उद्यमी सहकारीले बजारसम्म खसीबोका पुर्याउने गरेको छ । यहाँ ठूला व्यापारीदेखि साना व्यापारी तथा स्थानीय बासिन्दाहरु पनि खसीबोका खरिदका लागि आउने गरेको सहकारीका अध्यक्ष नुनमाया थापा मगरले बताइन् ।

यहाँ उत्पादित खसी बोका व्यवसायिक रुपमा राखिएका भने होइनन् । गाउँघरमा उत्पादित खसीबोकाहरु दशैं खर्च जोह गर्नका लागि गाउँगाउँबाट ल्याएर विक्री गरिएको हुप्सेकोट ६ का किसान एवम् बराजु आधारभूत विद्यालय, भडारीका प्रधानाध्यापक हिरा बहादुर सारूले बताए ।

गाउँमा उत्पादित खसीबोका बजार सम्म पुर्याउनका लागि लेकबेशी सामाजिक महिला उद्यमी सहकारीले विगत १ दशकदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ ।

शुरु शुरुमा व्यापारीहरुलाई खोजी खोजी बोलाउन पर्ने वा खबर गर्नु पर्ने भए पनि अहिले भने व्यापारीहरु सहकारीमा आफै खसीबोका खोज्दै आउने गरेको सहकारीका व्यवस्थापक सुशिला परियारले बताइन्। अहिले आफूहरुलाई खसीबोका बेच्न भ्याई नभ्याइ भएको उनको भनाइ छ ।

यस पटकको दशैंमा १ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेको यो सहकारीले मंगलबारसम्म ८ सयभन्दा बढी खसीबोका विक्री गरिसकेको जनाएको छ । व्यवस्थापक परियारले मंगलबार दिउँसोसम्ममा एक करोड रूपियाँभन्दा बढीको खसीबोका विक्री गरेको जानकारी दिइन् ।

यो सहकारीले गाउँगाउँबाट किसानले उत्पादन गरेको खसीबोका सहकारीमा ल्याउने र सहकारीबाट व्यापारी र स्थानीयलाई बिक्री गर्ने गरेको छ । त्यसका लागि सहकारीले हरेक खसीबोकाबाट प्रतिकिलोमा ५ देखि १० रुपैया व्यवस्थापन शुल्क लिने गरेको छ ।

सहकारी स्थापनापछि किसानलाई खसीबोका बिक्री गर्न समस्या हटेको, बजारमा ठगिने डर पनि नरहेको र खसीबोका बिक्री नहोला कि भन्ने चिन्ता पनि हराएको प्रधानाध्यापक सारूको भनाइ छ । यहाँ काठमाडौं, पोखरा, बुटवल, नारायणघाटदेखि व्यापारीहरु खसीबोका खरिद गर्न आउने गरेको सहकारीले जनाएको छ ।