चितवन, जेठ ३ गते । बिसहजार जेसीजको आयोजनामा इच्छाकामना गाउँपालिका–१ हात्तिवाङमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ। जेसीजको यस बर्षको प्रकरण “युथ फर चेन्ज” अभियान अन्तर्गत सञ्चालित कार्यक्रममा स्थानीयले स्वास्थ्य सेवा पाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले भने, “समाज परिवर्तनको शुरुवात सेवा प्रवाहबाट हुन्छ। बीसहजार जेसीजले जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याएर जेसीजको धर्म निभाएको छ।”
त्यस्तै, बीसहजार जेसीजका पूर्व अध्यक्ष रमेश बस्ताकोटीले जेसीज केवल औपचारिक कार्यक्रमहरूमा सीमित हुन नहुने भन्दै यस्ता प्रत्यक्ष जनसेवामूलक कार्यहरु पहिचान बनाउने आधार हुने बताए ।
कार्यक्रमका अर्का वक्ता पुर्व राष्ट्रिय उपाध्यक्ष जनकराज घिमिरेले भने, “स्वास्थ्य जस्तो संवेदनशील विषयमा सशक्त उपस्थिति जनाउँदै बीसहजार जेसीजले देखाएको सक्रियता सराहनीय छ। गाउँमै यस्ता सेवा पुर्याउनु सामाजिक रूपान्तरणको आधार हो।”
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल अफिसर डा हरि सेढाईंले दर्जनौं स्थानीयको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए।
पूर्व अध्यक्ष प्रदीप अधिकारी, सुबाहु पण्डित लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रम पुनः सञ्चालन हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
बीसहजार जेसीजले भविष्यमा पनि सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम बीसहजार जेसीजका बर्ष २०२५ का अध्यक्ष दिवाकर पौडेलको अध्यक्षतामा भएको थियो । जिबन क्षेत्रीले संयोजन गरेको सो कार्यक्रममा सुरेन्द्र बास्तोलाले सहजीकरण गरेका थिए ।