गैंडाकोट, साउन ५ गते । नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ। जिल्लाभरिका नयाँ तथा पुराना कलाकारहरूको प्रतिभा उजागर गर्न साउन २५ गते कार्यक्रम गर्न लागिएको आयोजकले जनाउको छ ।
रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले तीज पर्वले महिलाकाबीच आत्मीयता, सांस्कृतिक भाव र सामूहिक चेतनालाई अभिव्यक्त गर्ने माध्यम भएको भन्दै तिज केवल गीत र नृत्यको उत्सव मात्र नभई महिलाको भावना, पीडा र खुशी अभिव्यक्तिको सशक्त माध्यम पनि भएको बताए । यस्ता प्रतियोगिताले प्रतिभालाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।
रेडियोका स्टेसन म्यानेजर तथा कार्यक्रम संयोजक सुजन अधिकारीका अनुसार प्रतियोगितामा सांस्कृतिक पहिचान सहितका भेषभुषा, गायन शैली र प्रस्तुतिका आधारमा विजेता छनोट गरिनेछ। “हामी संगीत क्षेत्रमा लाग्न चाहने नवप्रवेशी र अनुभवी दुवैलाई प्रोत्साहन गर्न चाहन्छौँ,” उनले भने, “यस कार्यक्रममार्फत नवलपुर जिल्लाभरिका प्रतिभाहरू एकै मञ्चमा देखिन पाउनेछन् ।”
उक्त प्रतियोगितामा सहभागी सम्पूर्ण महिला समूहहरूले मौलाकाली केवलकार लिमिटेडका तर्फबाट दुईतर्फी टिकट निःशुल्क र गैडाकोट फन पार्कमा स्विमिङ टिकट प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि रेडियो संकेतले प्रथम पुरस्कार स्वरुप १० हजार, द्वितीय पुरस्कार ७ हजार, तृतीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार स्वरप ३ हजार तोकिएको छ।
निर्णायक मण्डलले गीतको मौलिक भेषभूषा, शब्द सन्देश, लय र प्रस्तुतिका आधारमा विजेता छनोट गर्नेछ। प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरूले तिज सम्बन्धी मौलिक वा सन्देशमूलक गीत लिएर रेडियो संकेतमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।