नवलपुर, पुष ७ गते । डिभिजन वन कार्यालय नवलपुरले ठूलो परिमाणमा अवैध जंगली जनावरको मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजादै गरेको अवस्थामा जंगली जनावरको मासु बरामद गरेको जनाएको छ ।
बागमती प्रदेश ०१–०२३ च ४३५४ नम्बरको एसी जडित पिकअप भ्यानबाट जंगली बँदेलको जस्तो देखिने एक हजार ६१ किलो, जंगली दुम्सीको जस्तो देखिने २२ किलो र १० किलो माछा बरामद गरिएको कार्यालयका सूचना अधिकारी शुभास अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार दुम्कीबास जंगलमा गाडी छाडेर चालक फरार भएका छन् । डिभिजन वन कार्यालयका प्रमुख बिष्णुप्रसाद अधिकारीले बरामद गरिएको मासु वैज्ञानिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए ।
परीक्षणबाट मासुको यकिन पहिचान भएपछि मात्रै वन तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने उहाँले स्पष्ट पारे । घटना एक हप्ता अघिको भए पनि आज मात्र सार्वजनिक भएको हो ।
बरामद गरीएको सवारी साधन एस एस मिट मार्ट सप्लायर प्रालिको रहेको छ । उक्त मिट मार्टका सप्लायर बाला क्षेत्रीले भने घरपालुवा बंगुरको मासु ल्याउँदै गर्दा कसैले सुराकी दिएको आधारमा पक्राउ गरिएको दाबी गरे ।
उनले गाडीको चालक अहिलेसम्म पनि सम्पर्कमा नआएकाले चालसकले बदमासी गरेको हुन सक्ने बताए । प्रयोगशालाको रिपोर्ट आएपछि मात्र कानुनी प्रकृया अघि बढाइने अधिकारीले बताए । कार्यालयले फरार चालकको खोजी तथा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।









