नवलपुर, पुष ९ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली-१६ रहजरमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
युपी ८० एफटी ३५२५ नम्बरको भारतीय ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक लम्जुङका ५७ वर्षीय रश बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते गुरुङको उपचारको क्रममा देवचुली अस्पतालमा मृत्यु भएको उनले जाकारी दिए। दुर्घटनामा मोटरसाइकल पछाडि सवार नवलपुरको कावासोती-५ निवासी २२ बर्षीया हेमा गुरुङ गम्भीर घाइते भएकी छिन् ।
दुवै खुट्टा र टाउकोमा चोट लागेका उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी निरक्षक गुरुङले बताए ।
दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक भारतको उत्तर प्रेदेश ईस्लामपुर ईस्लामनगर निवासी ३५ बर्षीय हसरुदिन खानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।









