ट्याक्टर दुर्घटना हुँदा नवलपुरमा एक जनाको मृत्यु

नवलपुर, पुस १९ गते । नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी नवलपुरको मध्यविन्दु–११, कुसन्डे निवासी ६९ बर्षीय दल सिंह थापाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङ अनुसार मध्यविन्दु १० अरुणखोलाको अरुणखोला सामुदायिक वनबाट कटान गरेको दाउरा लोड गरेको लु ४ त ६२९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टरको ट्राली अचानक पल्टिन गई दुर्घटना हुन जाँदा लोड गरेको मुडा माथी सवार थापा गम्भिर घाईते भई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याएको थियो ।

उहाँलाई अस्पतालका चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए । ट्याक्टर र ट्याक्टर चालक ३९ बर्षीय गणेश बागबललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।