जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ बाट कसरी बचाउने ?

चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला जाडो यामको सुरुवातसँगै बालबालिकामा ‘रोटा भाइरस’को सङ्क्रमण देखिने गरेको बताउँछन् । धेरैजसो चिसो याममा झडापखालाबाटै रोटा भाइरसको सङ्क्रमण हुने गरेको उनको भनाइ छ ।

धेरैजसो एक वर्षदेखि पाँचवर्ष मुनिका बालबालिकालाई यस्तो सङ्क्रमण हुने गरेको पाइन्छ । जाडोमा बालबालिकालाई हुने झाडापखालाको ३० प्रतिशतभन्दा बढीमा ‘रोटा भाइरस’को सङ्क्रमण हुने गरेको छ ।

झाडापखलाबाट मृत्यु हुने बालबालिकोमध्ये सबैभन्दा धेरै ‘रोटा भाइरस’कै कारण हुने जनाइएको छ । अस्पतालमा दैनिक एकदेखि दुईजनासम्म झडापखालाका बिरामी आउने गरेका छन् । एकवर्ष मुनिका बालबालिकामा यस भाइरसको सङ्क्रमण धेरै हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बालरोग विशेषज्ञ डा।जीतेन्द्र अमात्य जाडोयाममा देखिने यस रोगको मुख्य लक्षण झाडापखला नै रहेको बताउँछन् । उनी रोटा भाइरसको सङ्क्रमणले झाडापखला लागे चार पाँच दिनमै सञ्चो हुने उल्लेख गर्छन् ।

खोपले सङ्क्रमण कम हुने

सरकारले रोटा भाइरसको सङ्क्रमणविरुद्ध ‘रोटा रिक्स’ नामक खोप बालबालिकालाई दिने गरेको छ । उक्त औषधी बालबालिकालाई मुखबाट दुई थोपा खुवाउने गरिन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गत वर्षदेखि निःशुल्करुपमा उक्त खोप वितरण गर्दै आइरहेको छ । खोप जन्मेको छ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक खुवाउने गरिन्छ ।

निर्देशक डा बसौला ‘रोटा रिक्स’ खोप दिनथालेपछि बालबालिकामा ‘रोटा भाइरस’को सङ्क्रमण कम हुने गरेको बताउँछन् । “जाडो याममा पहिले दैनिक पाँच जनासम्म यस्ता सङ्क्रमणका आउने बिरामी अहिले एक दुई जना मात्र आउने गरेका छन” उनी भन्छन्,“खोपको प्रभावकारिताले ‘रोटा भाइरस’का कारण हुने झाडापखाला कम भएको छ ।”

अहिले खोपको कारणले फाट्टफट्ट मात्र नै उपचार गर्न आउने गरेको डा अमात्यको भनाइ छ । खोपको कारणले अहिले यो वर्ष यस्तो सङ्क्रमणले हुने पखला घटेको पाइएको उनी उल्लेख गर्छन् ।

लक्षण
‘रोटा भाइरस’को सङ्क्रमणले बालबालिकामा दिनमा तीन÷चार पटक पाँच दिनसम्म पातलो दिसा आउने र बच्चा रुनेजस्ता लक्षण देखिन्छ ।

यस्तै पखालासँगै बान्ता हुने, ज्वरो आउने, खाना नरुच्ने र बेहोस हुनेजस्ता पनि समस्या देखिने गर्छ । यस्तो लक्षण देखिनासाथ बालबालिकालाई स्वास्थ्य संस्थामा लैजानुपर्छ । भाइरसको सङ्क्रमण बालबालिकालाई छिटै हुने भएकाले समयमै उपचार नगरिए थप जटिल समस्या देखिने गर्दछ ।

बच्ने उपाय

‘रोटा भाइरस’बाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने घरमै झोल खानेकुराका साथै आमाको दूध प्रशस्त मात्रामा खुवाउनुपर्छ । यस्तै छ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान तथा छ महिनामाथिको बच्चा भए जीवनजल, दालको रस, गेडागुडी, तरकारीको रस खुवाउनुपर्छ ।

बच्चालाई समय समयमा नुहाइदिने र सफा राखिराख्ने, बच्चाले लगाउने कपडा दैनिक फेर्ने, उमालेको पानी मात्रै खान दिने गर्नुपर्छ । बालबालिकालाई खानेकुरा खुवाउन अघि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ ।