कावासोती । कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोनाबाट ८ महिनापछि मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार गत साउनपछिको यो पहिलो मृत्यु हो । कोरोना संक्रमण भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएका भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनका अनुसार ती पुरुषलाई निमोनियाँ भएको थियो भने मिर्गौलासम्बन्धी समस्या पनि थियो। कोरोना संक्रमणका कारण चितवनमा गत साउन २३ मा एकजनाको मृत्यु भएको थियो। त्यसयता संक्रमण नरोकिए पनि कोरोनाका कारण कसैको मृत्यु भएको थिएन।
योसहित चितवनमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको संख्या ४५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।







