साढे १७ करोडमा बनेको मध्यविन्दु नगर अस्पतालको उद्घाटन

कावासोती, पुष ६ गते । मध्यविन्दु नगर अस्पतालको उद्घाटन गरिएको छ । नगर प्रमुख भिमलाल अधिकारीले आइतबार अस्पताल भवनको उद्घाटन गरेका हुन् ।

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरि १५ शैय्याको नगर अस्पताल सञ्चालन गरिएको हो । अत्याधुनिक सुविधासहितको भवन निर्माण सम्पन्न गरि गत भदौदेखि नै स्वास्थ्य सेवाहरू, नवनिर्मित भवनबाट सञ्चालनमा ल्याइएको थियो । जसको विधिवत रुपमा उद्घाटन भने आइतबार भएको हो ।

२०७९ मङ्सिर २३ गते शिलान्यास गरिएको भवन तीन वर्षभित्र निर्माण सम्पन्न भएको हो । भ्याटसमेत १७ करोड ५६ लाख २८ हजार एक सय ८७ रुपैयाँ लागतमा अस्पताल भवन निर्माण भएको हो । भुइँतलामा रहेको २१ वटा कोठामा ओपिडी , ल्याब , अपरेशन थियटर, फार्मेसी लगायतका सेवाहरू सञ्चालन गरिएको छ भने पहिलो तलामा पनि २१ वटा कोठा छ जसमा अंतरग विभाग र प्रशासनिक सेवा सञ्चालन गरिएको छ । दोश्रो तलामा ४ वटा चिकित्सक आवास कक्ष रहेका छन् ।

सुविधासम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताए । यसै महिनादेखि एमडिजिपी सहित, दैनिक रुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्नेगरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । अस्पतालले बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवाहरू प्रदान गर्ने बताइएकाे छ ।