भेनेजुयलाका राष्ट्रपतिलाई अमेरिकी सेनाले कोठाबाटै यसरी गरेको थियो गिरफ्तार

पुस २० गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी सैन्य जहाजमा रहेको दाबीसहित एक तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले  सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा तस्बिर साझा गरेका हुन् ।

तस्बिरमा मादुरोजस्तै देखिने व्यक्ति आँखामा मास्क र कानमा हेडफोन तथा हातमा हत्कडी लगाएर खैरो रंगको ट्र्याकसुटमा देखिन्छ ।

यसैबिच, बीबीसीले स्रोतलाई उद्धृत गर्दै मादुरोलाई बोकेको अमेरिकी सैन्य विमान आजै न्यूयोर्कको स्टुअर्ट विमानस्थलमा अवतरण गर्ने अनुमान गरेको छ । यो विमानस्थल न्यूयोर्क राज्यको अरेन्ज काउन्टीमा पर्छ र म्यानहट्टनबाट करिब ६० माइल उत्तरमा अवस्थित छ ।

बीबीसीका अनुसार मादुरो हाल अमेरिकी सेनाको नियन्त्रणमा छन् र विमान अवतरणपछि उनलाई संघीय अधिकारीहरूलाई जिम्मा लगाइनेछ । उनलाई आउँदो हप्ता न्यूयोर्कको दक्षिणी जिल्लाको संघीय अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ ।

यस्तै अमेरिकाका संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले यो अपरेसनका लागि महिनौँदेखि अभ्यास गरिएको बताए।

उनका अनुसार ‘अमेरिकी सेनालाई मादुरो खान्छन्, कहाँ बस्छन्, कस्ता लुगा लाउँछन्, उनका घरपालुवा जनावर के कति छन् भन्नेसम्म जानकारी थियो। यतिसम्म कि अभ्यासका लागि अमेरिकी सेनाले मादुरोको घरजस्तै नक्कली भवनसमेत बनाएका थिए।’

ट्रम्पले भनेका छन्, ‘अपरेसन पूर्ण अँध्यारोमा गरिएको थियो। अमेरिकी सेनालाई सजिलोका लागि काराकासका सबै बत्ती निभाइएको थियो। आक्रमणका क्रममा कम्तीमा सातवटा विस्फोट गरिए। पूरा अपरेसन ३० मिनेटभन्दा कम समयमै सकिएको थियो।’

उनको दाबीअनुसार ‘यो अपरेसनका क्रममा केही अमेरिकी सैनिक घाइते भए पनि कोही मारिएका छैनन्। एउटा हेलिकप्टरमा क्षति पुगे पनि सुरक्षित फर्किएको छ।’

ट्रम्पले भेनेजुएलामा चार दिनअघि नै हमला गर्ने योजना रहेको  तर मौसमले साथ नदिएपछि बादल हट्नेबित्तिकै शनिबार गरिएको पनि बताए।

यसैबीच सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सेनाले मादुरो र उनकी श्रीमतीलाई बेडरुम (ओछ्यान) बाटै थुतेर लगेको उल्लेख गरेको छ।

यस्तै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् । ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म वेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भनेका छन् ।