टि-२० विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीको सामना गर्दैछ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे शुरु हुनेछ ।
नेपाल आइसिसीको ट्वान्टी २० वरियतामा १६औं स्थानमा रहँदा इटली २७औं स्थानमा छ । दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा इग्ंल्याण्ड र ईटली स्कटल्याण्डसँग पराजित भएको थियो ।
नेपालले टि-२० आईमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो । तर, ५० ओभरको खेलमा भने नेपाल इटलीमाथि हावी छ । तीन पटक भीड्दा नेपालले सबै खेल जितेको छ
नेपाल र इटलीबीचको पहिलो खेल सन् २००५ मा मलेसियामा आयोजना भएको विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो, जहाँ नेपालले इटलीलाई हराएको थियो । यो खेलमा नेपालका लागि शक्ति गौचनले शतक हानेका थिए । शक्तिले १ सय ३ बलमा नटआउट रहँदै १ सय ६ रन बनाएका थिए ।
नेपाल र इटलीबीच दोस्रो भेट सन् २०१० मा उसको घरैमा आयोजना भएको विश्वकप लिग डिभिजन ४ मा ईटलीमै भएको थियो, जहाँ नेपालले ५ विकेटको जित हासिल गरेको थियो ।
तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन ३ मा भेट भएको थियो । यो खेलमा नेपालले इटलीलाई ८ विकेटले हराएको थियो ।
इटलीको टि-२० आईमा पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको छ । इटलीले विश्वकपका लागि भएको युरोपेली छनोटमा स्कटल्याण्डलाई हराएको थियो । त्यही हारका कारण स्कटल्याण्ड विश्वकप छनोट हुन असफल भयो । तर बंगलादेश नखेल्ने भएपछि उसले खेल्ने अवसर पाएको थियो । छनोटमा इटलीले स्कटल्याण्डलाई १२ रनले हराएको थियो ।
विश्वकप अघि इटलीले आयरल्याण्ड र नामीबियालाई हराएको थियो भने विश्वकपका वार्मअप खेलमा क्यानडा र युएईलाई पराजित हराएको थियो ।
तर, विश्वकपमा भने इटलीले अपेक्षा अनुसारको सुरुवात गर्न सकेन । स्कटल्याण्डसँग इटली ७३ रनले पराजित भयो ।
इटलीको टोलीमा अस्ट्रेलियाको फ्रेन्चाइजी लिग बिग बास लिग(बिबिएल) तथा त्यहाँको घरेलु प्रतियोगिता, दक्षिण अफ्रिको राष्ट्रिय टोली, विश्वका विभिन्न फ्रेन्चाइजी लिग तथा इङ्ल्याण्डको काउन्टी क्रिकेट खेल्ने खेलाडीको बाहुल्यता छ । त्यसैले यो टोली कमजोर भने छैन ।









