नवलपुर, चैत ८ गते । नवलपुरको कावासोती नगरपालिका–३ का महिला मादल बजाउने तालिम लिन तल्लिन भएर लागेका छन् । वडा कार्यालयले आफ्नो वडा भित्र रहेका ३८ जना महिलालाई दैनिक दुई घण्टाका दरले १५ दिने निशुल्क तालिमको आयोजना गरेको हो ।
वडाले बिहान र दिउँसो गरेर १९/१९ जनाको दुई टोली बनाई वडामा दर्ता भएका मन्दिर र आमा समूहमा सहभागिलाई तालिम दिइएको वडाध्यक्ष डोरमान गिरीले बताए । चैत १ गतेदेखि सुरु भएको बाद्यवादन तालिम चैत १५ गतेसम्म चल्नेछ ।
सिप सिकेपछि कुनै पनि बेला काम लाग्ला भनेर तालिममा सहभागि भएको स्थानीय सरस्वती न्यूरेले बताइन् । बिवाद, ब्रतबन्ध, रत्यौली, भजनकृतनमा काम लाग्छ भनेर तालिम लिएको उनको भनाइ छ ।
प्रशिक्षक गोकुल कडेलले महिलाहरु तल्लिन र अनुशासित भइ मादल बजाउन सिकिरहेको बताए । १५ दिनको तालिमपछि भजन र रत्यौलीमा मादल बजाउन अव पुरुषहरुलाई खोज्न नपर्ने उनको भनाइ छ । महिलाहरु घरायसी काम र सामाजिक सञ्जालमा मात्र व्यस्त हुने भएकाले उनीहरुलाई पनि सक्षम बनाउन यो तालिम फलदायी हुने उनको विश्वास छ ।
आर्थिक वर्ष २०८२/०८३ को दुई लाख रुपैयाँ बजेटबाट तालिम आयोजना गरेको अध्यक्ष गिरीले बताए । वडा कार्यालयले एक लाख रुपैयाँ खर्च गरेर १८ वटा मादल किनेको छ । तालिम समापनपछि ती सबै मादल दर्ता भएका हरेक मन्दिर र आमा समुहलाई हस्तान्तरण गर्ने गिरीले बताए ।
सामाजिक कार्यक्रम गर्दा मादल भए पनि बजाउने मान्छेको अभाव हुने गरेकाले महिलालाई दक्ष बनाउन तालिम दिइएको उनको भनाइ छ । गत वर्ष मादल, खैजडी र मजुरा बजाउने तालिम दिइएको थियो । यसले महिलामा माग अझै बढेको भन्दै अध्यक्ष गिरीले आगामी वर्ष बजेट बढाएर सहभागि संख्या पनि थप गर्ने योजनामा रहेको सुनाए ।
हेर्नुहोस् भिडियो








