इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानका ऊर्जा स्थलहरूमा हमला गरे तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने चेतावनी दिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे उसका पावर प्लान्ट नष्ट गरिने चेतावनी दिएका थिए । जवाफमा इरानले यस्तो चेतावनी दिएको हो ।
इरानी मिडियामा दिइएको बयानमा आईआरजीसीले भनेको छ, ‘इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण नहुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ ।’
इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त मार्ग भएर समुद्री जहाजहरू आवागमनमा हिच्किचाइरहेका बताएका छन् ।
होर्मुज स्ट्रेट इरानसँग जोडिएको छ । यो फारसको खाडी, ओमानको खाडी र अरब सागर (दक्षिण पूर्व) जोडने एक मात्र समुद्री मार्ग हो । यो मार्ग भएर विश्वभर २० प्रतिशत पेट्रोलियम पदार्थ ओसार–पसार हुन्छ ।
इरानले होर्मुजको बाटो नखोले अमेरिकाले उसका कयौं पावर प्लान्ट्समा हमला गरेर नष्ट गर्ने र त्यसको सुरुवात सबैभन्दा ठूलो प्लान्टबाट हुने पनि चेतावनी ट्रम्पले दिएका थिए ।
ट्रम्पको चेतावनीपछि इरानको आईआरजीसीले पनि जवाफी कारबाही गर्ने बताएको छ । आईआरजीसीले भनेको छ, ‘हामी इजरायलमा पावर प्लान्ट्स, ऊर्जा स्थल र आईटीलाई व्यापक रूपमा निशाना बनाउने छौं । अमेरिकी हिस्सेदार भएका सबै कम्पनीहरूलाई निशाना बनाइने छ ।’






