नवलपुर, चैत ९ गते । नवलपुरमा चालु आर्थिक वर्षमा मात्रै ३ सय ६२ जना नयाँ क्षयरोग (टीबी) का बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा फेला परेका तीन सय ६२ मध्ये १६ जनाको मृत्यु भइसकेको प्रदेश जनस्वास्थ्य कार्यायका फोकल पर्सन डिल्लीराम तिवारीले जानकारी दिए ।
प्रदेश जनस्वास्थ्य कार्यालयले विश्व क्षयरोग दिवसको पुर्व सन्ध्यामा सोमबार एक कार्यक्रम गरी यस्तो जानकारी दिएको हो । कार्यालयका अनुसार नवलपुरमा देखिएको यो संख्या गण्डकी प्रदेशका ११ जिल्लामध्येकै सबैभन्दा बढी हो भने गत आवको भन्दा जिल्लामा देखिएको कम हो ।
गत आर्थिक वर्षमा जिल्लामा छ सय ७२ जना क्षयरोगका विराम िभेटिएकामा १५ जनाको मृत्यु भएको तिवारीले जानकारी दिउ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तथ्यांकका आधारमा यहाँ सबैभन्दा बढी क्षयरोगका बिरामी भेटिएका हुन् ।
कार्यालयले दिएको जानकारी अनुसार नयाँ भेटिएका बिरामीमध्ये १४ वर्ष मुनिका दुई जना रहेका छन् । उनीहरुमध्ये बहुऔषधि प्रतिरोध बिरामी (डीआर) भएका आठ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको जनस्वासथ्य कार्यालय प्रमुख डा केशवप्रसाद चापागाईले जानकारी दिए ।
क्षयरोग परीक्षण कार्यक्रम अन्तर्गत जिल्लाका आठवटै पालिकामा चार हजार ७७९ जनाको छातीको एक्सरे र तीन सय २४ जनाको खकार परीक्षण गरिएको चापागाईंले जानकारी दिए ।
गत आर्थिक वर्षमा गण्डकीको कास्कीमा सबैभन्दा बढी छ सय ५० जना विरामी भेटिएका थिए । क्षयरोगको उपचारका लागि नवलपुरमा ७६ डट्स केन्द्र रहेको कार्यालयले जनाएको छ । प्रादेशिक अस्पताल डण्डामा डीआर (ड्रक रेसिडेन्स) होस्टेल रहेको छ । यस्ता होस्टेल गण्डकी प्रदेशको नवलपुरसहित बाग्लुङ र कास्कीमा रहेका छन् ।
लगातार खोकी लाग्नु क्षयरोगको सबैभन्दा पहिलो र महत्वपूर्ण लक्षण भएको कार्यालय प्रमुख डा चापागाईले बताए । उनका अनुसार दश दिनभन्दा बढी लगातार खोकी लागेमा अनिवार्य रुपमा खकार परक्षिण गर्नुपर्छ । जिल्लामा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दै गएकाले समयमै उपचार गराएमा यो रोग पूर्ण रुपमा निको हुने भएकाले रोग पहिचानको कामलाई तिब्रता दिएको उनको भनाइ छ ।
के हो त क्षयरोग ?
क्षयरोग एक सरुवा रोग हो । धेरैले यसलाई ‘टीबी’ पनि भनेर बुझ्ने गर्छन् । क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्ने डा चापागाईंले बताउ ।
यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले जोखिम समूहमा रहेका व्यक्तिले हाछ्यूँ गर्दा सकभर मुख छोप्ने, मास्क लगाएर हिँड्नुपर्ने उनको भनाइ छ ।
क्षयरोगका मुख्य लक्षण
दश दिनभन्दा बढी एकनासले खोकी लाग्नु
खकारमा रगत देखिनु
मुख सुक्नु
हल्का ज्वरो आउनु
राति धेरै पसिना आउनु
थकान र कमजोरी महशुस हुनु
खान मन नलाग्नु
तौल कम हुँदै जानु
रोकथामका उपाय
मानसिक तनाव कम गर्ने
सुर्तीजन्य पदार्थ सेवन नगर्ने
मदिरा वा लागूपदार्थ सेवन नगर्ने
सन्तुलित आहार सेवन गर्ने
व्यायाम गर्ने
क्षयरोग संक्रमितबाट टाढै बस्ने
शिशु जन्मनेबित्तिकै बीसीजी खोप लगाउने
नेपालमा अझै पनि दैनिक ४३ जनाको मृत्यु क्षयरोग (टीबी) का कारण मृत्यु हुने गरेको छ भने वार्षिक १६ हजार नेपालीले क्षयरोगबाटै ज्यान गुमाउने गरेको तथ्यांक छ । समयमा नै रोग पहिचान गरी चिकित्सकको निगरानीमा औषधी सेवन गरे पूर्णरूपमा निको हुने यो रोगबाट वार्षिक रूपमा यति ठूलो संख्यामा मृत्यु हुनु जनस्वास्थ्यमा चुनौती बनेको चिकित्सकहरु बताउँछन् ।








