इरानलाई ट्रम्पको एकपछि अर्को धम्की, फेरि दिए कडा चेतावनी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकपछि अर्को धम्की दिइरहेका छन्। यस क्रममा उनले चाँडै सहमतिमा आएन भने इरानका सबै कुरा ध्वस्त पारिने र तेल कब्जा गरिने चेतावनी दिएका छन्।

फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि चाँडै सम्झौता भएन भने म सबै कुरा नष्ट गर्ने र तेल कब्जा गर्ने विचार गरिरहेको छु।’ यद्यपि उनले सम्झौताको सम्भावना अझै समाप्त नभएको पनि बताएका छन्। उनले भने, ‘सम्झौता हुने राम्रो सम्भावना छ र वार्ता जारी छ।’

यसअघि आइतबार ट्रम्पले इरानलाई अप्रिल ६ सम्मको समयसीमा तोक्दै सम्झौता नगरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। तर यसविरुद्ध इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ।

इरानी सेनाको मुख्यालय ९खातम अल(अन्बिया० का कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले आक्रमण गरिए अमेरिका र अमेरिकी सेना जोडिएका सबै पूर्वाधारमा हमला गरिने चेतावनी दिएका हुन्।

बीबीसी फारसीका अनुसार उनले विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले आक्रमण गरेमा हामी उनीहरूका आतंकवादी सेना र यहुदी शासनसँग सम्बन्धित सबै पूर्वाधारमा निरन्तर हमला गर्नेछौँ।’

अब्दुल्लाहीले अगाडि भनेका छन्, ‘हामीमाथि लादिएको यो युद्ध सुरु गरेदेखि नै हामीले भनेका सबै कुरा गरिरहेका छौँ। यस सन्देशको सरल अर्थ के हो भने नर्कको द्वार तिम्रा लागि खुल्नेछ।’

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधाररअड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।