प्रदेश स्तरीय प्रथम भोदी प्रतियोगिताको उपाधि आयोजक गण्डकीलाई

बोमलाल गिरी
नवलपुर, चैत २९ गते । थारु समुदायको चर्चित भोदी खेल प्रतियोगिताको उपाधि महिला पुरुष दुबै तर्फ आयोजक गण्डकी प्रदेशले जितेको छ । खेल नवलपुरको कावासोती–१६ डण्डाको थारु संग्राहलयको मैदानमा शनिवार र आइतबार गरी दुई दिन लगाएर सम्पन्न गरिएको हो । पहिलो पटक भएको प्रदेश स्तरीय प्रतियोगितामा गण्डकी च्याम्पियन बनेको हो ।

पुरुषतर्फ ६६ वटा लठ्ठी निकालेर गण्डकी प्रथम हुँदा १८ वटा लठ्ठी (थारु भाषामा काँचा) निकालेर लुम्बिनी प्रदेश द्धितीय, १५ वटा लठ्ठी निकाल्न सफल कोशी प्रदेशले तृतीय स्थान हाँसिल गरेको छ । बागमती प्रदेशले १० वटा लठ्ठी निकाल्दै सान्त्वना स्थान हासिल गरेको छ ।

प्रथम हुने गण्डकीले नगद ५५ हजार रुपैयाँ, मेडल तथा प्रमाण प्रत्र, द्धितीय हुनेले ३५ हजार नगद, मेडल र प्रमाण पत्र पायो भने कोशीले २५ हजारमा चित्त बुझायो । सान्त्वना भएको बागमतीले १५ हजार रुपैयाँ पाएको भोदी खेल संघ गण्डकीका अध्यक्ष रामप्रसाद महतोले जानकारी दिए ।

महिला तर्फ प्रथम भएको गण्डकीले १० हजार नगद र प्रमाण पत्र तथा दोस्रो भएको बागमतीले पाँच हजार रुपैयाँ पायो । प्रतियोगितामा पुरुषतर्फ जनकपुर र कर्णालीले टीम दर्ता गराएर पनि सहभागिता नजनाएको र महिलातर्फ पनि दुई प्रदेशले मात्र भाग लिएको महतोको भनाइ छ ।

भोदी खेलको सुरुवात भएको मानिने नवलपुरबाट विभिन्न क्लवका १४ पुरुष र ७ महिला टीमले प्रतिष्पर्धा गरेका थिए । जिल्लाको टीमलाई एकापसमा प्रतिष्पर्धा गराई प्रदेशमा गाभिएको खेल व्यवस्थापन समितिका संयोजक रिम बहादुर महतोले जानकारी दिए ।