इरान–अमेरिकाबीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड (कच्चा तेल) को भाउ ११ प्रतिशतले झरेको छ । मंगलबार उच्चतम विन्दुमा १०९.८७ डलर प्रतिब्यारेल कारोबार भएको अन्तर्राष्ट्रिय ब्रेन्ट क्रुड बुधबार अन्तर्राष्ट्रिय न्यून विन्दुमा ९७.४८ डलर प्रतिब्यारेलमा कारोबार भयो । यूएस वेस्ट टेक्सास इन्टरमिडियट क्रुड ११.३ प्रतिशतले घटेर ९०.७४ प्रतिब्यारेलमा कारोबार भयो ।
‘हर्मुजको जलमार्ग चाँडै खुल्ने आशा बढेको छ । सायद तेहरानले त्यहाँबाट जाने जहाजहरूसँग कर पनि उठाउँदैन होला । तर जहाजहरूको आवागमन सामान्य हुन र व्यापारले रफ्तार लिन महिनौं लाग्न सक्छ,’ बेलायती कम्पनी ट्रेड नेसन्सका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिर्सनले गार्डियनसँग भने ।
हर्मुज जलघाँटीको संकटले विश्व बजारमा कच्चा तेल, प्राकृतिक ग्यास, रासायनिक मल, पेट्रोकेमिकल्स ९प्लास्टिकरप्याकेजिङ०, इलेक्ट्रोनिक्स कम्पोनेन्ट्सलगायत आधारभूत वस्तुहरूको संकट छ । एसियाली बजारमा देखिएको रासायनिक मलको संकटले चाँडै नै खाद्यान्न असुरक्षा र भोकमरी बढाउने चेतावनी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले दिइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री मार्को रुबियो र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका पछिल्ला अभिव्यक्तिहरूले दुई देश सहमतिनजिक रहेको संकेत गरेको छ । यससँगै एउटा ठूलो संकटबाट विश्वले मुक्ति पाउन सक्छ ।
अमेरिकाले इरानसँगको युद्ध अन्त्यका लागि एक पृष्ठ लामो १४ बुँदे दस्ताबेज प्रस्ताव तयार गरेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । दस्ताबेजबारे पश्चिम एसियाका अमेरिकी दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जरेद कुस्नरले इरानी अधिकारीहरूसँग प्रत्यक्ष र मध्यस्थकर्तामार्फत छलफल गरिसकेको एक्सियोसको समाचारमा उल्लेख छ ।








