अन्तिम खेलमा अमेरिकालाई पराजित गर्दै नेपाल ‘ए’ टोलीले स्कटल्यान्डसम्मिलित अभ्यास खेलमा शतप्रतिशत नतिजा हात पारेको छ।
आईसीसी विश्वकप लिग-२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ टोलीले दुई–दुई खेलको सिरिज खेलेको थियो। नेपाल ‘ए’ टोलीले सबै खेलमा जित निकालेको हो।
अन्तिम अभ्यास खेलमा नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिका पाँच बल अगावै २५७ रनमा अलआउट भयो। अमेरिकाका लागि शेहान जयसुरियाले सर्वाधिक ७१ रन बनाए। शुभम रन्जानेले ४७ र शयान जगानगिरले ४१ रन थपे। स्मित पटेलले ३३, साइतेजा मुक्कमल्लाले १६ र मिलिन्द कुमारले ११ रन बनाए।
अमेरिकालाई रोक्न नेपालका लागि शेर मल्लले चार विकेट लिए। शेरले ७.१ ओभरमा ४० रन खर्चे। त्यस्तै, बसिर अहमदले तीन विकेट लिए। शाहब आलम र पवन सर्राफले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ‘ए’ टोली एक बल अगावै २६४ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप जोराले १११ रनको योगदान दिए। ११५ बलमा १११ रन बनाएका सन्दीप रुसिल उगारकारको बलमा क्याच आउट हुन पुगे।
बसिर अहमदले ३८ र मयन यादवले २४ रन बनाए। पवन सर्राफले २० र नारायण जोशीले १६ रन थपे। अमेरिकाका लागि सौरभ नेत्रवल्करले तीन विकेट लिए। उनले आठ ओभरमा २१ रन खर्चे। जसदिप सिंहले दुई विकेट लिए। शुभम रजाने, मोहम्मद माहसिन, मिलिन्द कुमार र रुसिल उगारकारले समान एक विकेट लिए।








