यसरी हुँदैछ नारायणीमा तटबन्ध निर्माणको काम

बोमलाल गिरी
नवलपुर, बैशाख ३१ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापिठ र गजेन्द्र मोक्ष दिब्य धाम बचाउन नारायणी नदी किनारमा तटबन्ध निर्माणको कामलाई तिब्रता दिइएको छ ।

विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएकाले नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माणको काम भइरहेको सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताए ।

नारायणी बगिरहेको यो ठाउँ निक्कै साँघुरो भएकाले अत्यन्त असुरक्षित र जोखिमयुक्त ठाउँ भएकाले तटबन्ध र पर्खाल लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताए । संघीय सरकारको २ करोड १४ लाख रुपैयाँ लागतमा चैतदेखि सुरु भएको यो काम यहि आर्थिक वर्ष भित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ ।

तटबन्ध नहुँदा नारायणीले कटान गर्ने सम्भावना उच्च रहेको तथा तिर्थयात्रीहरुका लागि पनि जोखिम भएकाले पनि तटबन्ध निर्माण गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । यसले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीमा पर्ने यो क्षेत्रमा नारायणीकै नदीजन्य पदार्थ प्रयोग गरी तटबन्धको काम भइरहेको भए पनि सबै क्षेत्रसँग समन्वय गर्न निक्कै समस्या भएको आयोजनाले जनाएको छ । छोटो समयमा परिणाम निकाल्न गाह्रो र चुनौतीपूर्ण भएपनि सकारात्मक सोच र उर्जाका साथ काम गरिरहेको आयोजना प्रमुख सुवेदीले बताए ।

यहाँ धाम भित्रै कक्षा १० सम्म पढाई हुने विद्यापिठमा १४६ जना विद्यार्थी अध्ययनरत रहेका त्रिवेणीस्थित गजेन्द्र मोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिए । जसले कक्षा १२ सम्म पठनपाठनका लागि स्वीकृति समेत लिइसकेको छ ।

धाम अवलोकनका लागि पछिल्लो समयमा देश विदेशबाट आउने पर्यटकको संख्या उल्लेख्य बढेको बताइएको छ । प्रपन्नाचार्यका अनुसार खुल्ला सीमा र नाका जोडिएका कारण भारतीय पर्यटकको चहलपहल धेरै हुने गरेको छ ।

विशेष मेला लागेको दिनबाहेक यहाँ दैनिक झण्डै पाँच हजार पर्यटक आउने उनको भनाइ छ । विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शीशमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको बताइएको छ । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल भएकाले पनि यो धामको विशिष्ट धार्मिक महत्व रहेको प्रपन्नाचार्यले बताए ।