राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ। यसपालि एसईईमा ६५.९८ प्रतिशत विदर्यार्थी उत्तीर्ण भएका छन्।
गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेअनुसार सार्वजनिक गरिएको हो।
परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।
सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।
बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् । त्यस्तै, त्यसपछिको जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।
२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् ।









