भूमिहिन सुकुम्वासीको कावासोतीमा विशाल प्रदर्शन (भिडियोसहित)

नवलपुर, बैशाख २९ गते । नवलपुरका भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीले सदरमुकाम कावासोतीमा विरोध र्यालसहित पदर्शन गरेका छन् । सरकारले विना तयारी विभिन्न स्थानमा डोजर लगाएर उठिवास लगाएको भन्दै आफूहरु बसिरहेको ठाउँबाट विस्थापित नगर्न सरकारसँग आग्रह गर्दै प्रदर्शन गरेका हुन् ।

र्यालपिछि कोणसभा गरेर प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र पनि बुझाएका छन् । त्यसअघि फलफूल चोकबाट विभिन्न नारा लेखिएका प्ले कार्डसहितको जुलुल थकाली चोक, सभापति चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

ठूलो संख्यामा उपस्थित भूमिहिन सुकुम्वासीले ‘जमिन कस्को जोत्नेको, घर कस्को पोत्नेको, हुकुमवासीलाई कारवाही गर, भूमि ऐन संसोधन गर, वन ऐन संसोधन गर, भूमिहिन एक हौं, गुठि विधेयक जारी गर, सुकुम्वासी एकता जिन्दावाद जस्ता प्लेकार्डसहित नारावाजी गरेका थिए ।

विरोध र्याली पछिको कोर्णसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका अगुवा निर्घ नविनले सेना र प्रहरी लगाएर भूमिहिनका घर टहरा भत्काउने काम भएको भन्दै त्यसलाई बन्द गर्न आग्रह गरे । देशरभरका ७० लाख भूमिहिन सुकुम्वासीहरु अहिले कतिबेला घर भत्किन्छ भनेर आतंकित भएको भन्दै सरकार प्रतिको विश्वास भत्काउने काम नगर्न आग्रह गरे ।

भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव हेमराज दाहालले सुकुम्वासीका बस्ती भत्काउने काम बन्द गरेर बस्ति व्यवस्थित गर्न आग्रह गरे । उनले आफुहरुका बस्तीमा अन्धाधुन्द डोजर लगाएर सामाजिक विद्रोह हुने चेतावनी दिए ।