नवलपुर, बैशाख ३० गते । २०८२ सालको एसईई परीक्षामा नवलपुरबाट १९ जना विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गरेका छन् । तीमध्ये ९ जना सामुदायिक विद्यालयका र १० जना संस्थागत विद्यालयका विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेका छन् ।
साधारणतर्फ १८ जना तथा प्राविधिकतर्फ १ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका जिल्ला शिक्षा समन्वय इकाई परीक्षा शाखा प्रमुख, बसन्ती भण्डारीले जानकारी दिइन् । उनका अनुसार गैँडाकोट नगरपालिकाबाट सबैभन्दा धेरै ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । कावासोतीबाट ६ र देवचुली नगरपालिकाबाट ५ जनाले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
गैँडाकोटको कन्टिनेन्टल बोर्डिङ स्कुल, सरस्वती निकेतन, विजय सामुदायिक विद्यालय तथा सूर्योदय विद्या मन्दिरका विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन् । कावासोतीको शिव मावि, जनता मावि, ज्ञानोदय मावि र नवलपुर एकेडेमीका विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । देवचुलीको नेपाल मावि, वाइजभिजन बोर्डिङ स्कुल, बदचुली मावि, अमर इङ्लिस स्कुल र सकला देवी माविका विद्यार्थीले उत्कृष्ट नतिजा निकाले ।
उत्तीर्ण प्रतिशत बढ्यो
जिल्लामा एसईईको नतिजा उत्साहजनक देखिएको छ । जिल्ला शिक्षा समन्वय इकाईको तथ्यांकअनुसार यस वर्ष ७२.४९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो प्रतिशत अघिल्ला दुई वर्षको तुलनामा उल्लेख्य बृद्धि भएको हो । २०८० सालमा नियमिततर्फ ४८.४६ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए भने २०८१ मा यो संख्या ७०.४५ प्रतिशत पुगेको थियो ।
यस वर्ष जिल्लाका ९१ सामुदायिक, ४८ संस्थागत, खुला एक र धार्मिक तीन गरी १४३ विद्यालयबाट कुल ५ हजार ६ सय ९७ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४ हजार १ सय ३० विद्यार्थी ग्रेडेड भएका छन् भने १ हजार ५ सय ६७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।









