काठमाडौं। इशान पाण्डे र कप्तान रोहितकुमार पौडेलको सानदार ब्याटिङसँगै नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा दुई स्थान फड्को मारेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै २७ खेल खेलेको नेपालले २२ अंक पुर्याएको छ। योसँगै नेपालले नामिबिया र क्यानडालाई पनि पछि पारेको छ। एक खेल बढी खेलेको नामिबियाको २२ र तीन खेल कम खेलेको क्यानडाको २१ अंक छ।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको हो।
नेपालका कप्तान रोहितले अविजित ७४ रन बनाए। ९८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका इशानले उनीसँग तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।
६१ बल खेलेका इशानले ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ओपनर आसिफ शेख २९ र कुशल भुर्तेल २८ रनमा आउट भए।
स्कटल्याण्डका लागि मार्क वाटले तथा ब्रान्डन म्याकमुलेन एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कल्याण्डले ३०.१ ओभरमा अल आउट हुँदै १ सय ९४ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३, माइकल इंग्लिशले ५१, जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाए ।
नेपालका लागि बलिङमा ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।







