संयुक्त अरब इमिरेट्स (युएई)को एक मात्र परमाणु ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको छ । आक्रमणपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ । युएईका अधिकारीहरूले यसलाई आतङ्कवादी हमला भन्दै कडा निन्दा गरेका छन् ।
आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । यद्यपि कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।
युएई रक्षा मन्त्रालयका अनुसार, तीन वटा ड्रोन साउदी अरेबियाको सीमातर्फबाट युएई प्रवेश गरेका थिए । तीमध्ये दुई वटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बिचमै खसालेको थियो भने एउटा ड्रोनले युएईको बाराकाह आणविक ऊर्जा केन्द्र नजिक आगलागी गराएको बताइएको छ ।
यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको सङ्केत दिइरहेका बेला भएको हो । पछिल्ला दिनमा फारसको खाडी क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सामाजिक सञ्जालमार्फत इरानका लागि समय सकिँदै गएको बताएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
उनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग फोनवार्ता गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले भने, “हाम्रा सशस्त्र बलहरू युद्धका लागि पूर्ण तयारी अवस्थामा छन् तर कूटनीतिक प्रयास पनि जारी छ ।”
बाराकाह आणविक ऊर्जा केन्द्रले युएईको कुल विद्युत् आवश्यकताको करिब एक चौथाइ ऊर्जा उत्पादन गर्ने गर्छ । त्यसैले यस केन्द्रमाथिको हमला अत्यन्त संवेदनशील मानिएको छ ।
साउदी अरेबियाले पनि उक्त आक्रमणको निन्दा गर्दै आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका थप तीन वटा ड्रोन खसालिएको जनाएको छ । हालै इरान समर्थित सशस्त्र समूह तथा इराकस्थित सिया लडाकु समूहले खाडी क्षेत्रका विभिन्न देशमाथि ड्रोन आक्रमण गर्दै आएका छन् ।
यसैबिच हर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दीका कारण क्षेत्रीय तनाव झन् बढेको छ । विश्लेषकहरूका अनुसार युएईको आणविक संरचनामाथि भएको यो हमला पश्चिम एसियालाई फेरि ठुलो युद्धतर्फ धकेल्ने सङ्केत हुन सक्छ ।








