युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित, इरान युद्धमा ट्रम्प प्रशासनलाई झट्का

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग सम्बन्धित युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ । ट्रम्प प्रशासनको इरान नीति र युद्ध सञ्चालनप्रति यो महत्त्वपूर्ण असहमतिको संकेतका रूपमा हेरिएको छ ।

प्रस्ताव २१५ विरुद्ध २०८ मतले पारित भएको हो । मतदानमा रिपब्लिकन सांसदहरू थोमस म्यासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले पार्टीको आधिकारिक धारणाविपरीत गएर प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले इरानविरुद्धको युद्धका लागि कांग्रेसको स्वीकृति नलिई ट्रम्पले सैन्य कारबाही अघि बढाएको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन् । मतदानपछि उनले अमेरिकी नागरिक युद्धबाट दिक्क भएको र इन्धन तथा मलको बढ्दो मूल्यको असर खेपिरहेको बताए ।

त्यस्तै, पेन्सिलभेनियाका रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकले आफ्नो मतदान अमेरिकी कानुनअनुसार भएको भन्दै युद्धसम्बन्धी निर्णय कंग्रेसमा ल्याएर छलफल र मतदान गरिनुपर्ने बताए ।

न्युयोर्कका डेमोक्र्याट सांसद तथा प्रतिनिधिसभाको विदेश मामिला समितिका वरिष्ठ सदस्य ग्रेगरी मिक्सले प्रस्ताव पारित भएपछि यसलाई संविधानअनुसार कंग्रेसले आफ्नो जिम्मेवारी पूरा गरेको उदाहरणका रूपमा व्याख्या गरे । उनले सबै डेमोक्र्याट सांसदहरूले प्रस्तावको पक्षमा मतदान गरेको बताए ।

यो प्रस्ताव मे २१ मा मतदानका लागि ल्याइने तय भए पनि रिपब्लिकन नेतृत्वले अन्तिम समयमा स्थगित गरेको थियो । त्यतिबेला आवश्यक मत नपुग्ने सम्भावना देखिएपछि मतदान रोकिएको आरोप डेमोक्र्याटहरूले लगाएका थिए ।