नवलपरासी । जिल्लाका विभिन्न पालिकामा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन रहेका छन् । भौतिक संरचना र प्राविधिक अभाव हुँदा दातृ निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन् ।
नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका वडा नम्बर १४ को शहिद स्मृति अस्पताललाई २०८१ सालमा उपलब्ध गराएको १ करोड २० लाख रुपैयाँ बराबरका ६ वटा डायलासिस मेसिन प्रयोगविहीन छन् ।
आर्थिक अभाव र सञ्चालन संरचना नभएकाले मेसिन प्रयोविहीन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले बताउनुभयो ।
त्यसैगरी बुटवलको मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको साढे ८ करोड रुपैयाँ बराबरका ५ वटा डायलासिस मेसिन पनि प्रयोगविहीन छन् ।
नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकाले मेसिन सञ्चालन हुन नसकेको मेयर विमला अर्यालले बताईन्। रामग्राममा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालका ५ वटा डायलासिस मेसिनले दैनिक १७ जना बिरामीलाई सेवा दिँदै आएका छन् ।
बिरामीको चाप बढी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । प्रयोगविहीन मेसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापक सिमा काफ्लेले बताए ।









