तेहरानका बजारहरू गत फेब्रुअरीदेखि असामान्य सन्नाटामा थिए । तेलको मूल्य आकाश छुन थालेपछि ट्रक चालकहरू सडकमा निस्कन हिचकिचाउन थाले । खाडी क्षेत्रका बन्दरगाहहरूमा जहाजहरू लामबद्ध भएर पर्खिरहे ।
होर्मुज नाका बन्द भएको थियो । बीचबीचमा खुल्ने र बन्द हुने प्रक्रियाहरू चलिरहे पनि यसले पहिलाको जस्तै गति लिन सकेको थिएन । बीचबीचमा भएका युद्धविरामहरूमा पनि छिटफुट आक्रमणहरू जारी नै थिए ।
यस्ताेमा हिजो अन्तर्राष्ट्रिय मिडियाहरूमा आएका समाचारहरू अनुसार, अमेरिका र इरानबीच जारी युद्धलाई अन्त्य गर्ने प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको छ । यसलाई दुवै पक्षका वरिष्ठ अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।
इरानका विदेशमन्त्री सय्यद अब्बास अराघची र अमेरिकी प्रशासनका उच्च अधिकारीहरूले यो सम्झौता अब ‘पहिलेभन्दा धेरै नजिक’ भएको बताएका छन् ।
यस सम्झौताअन्तर्गत होर्मुज जलसन्धि पुनः खोलिनेछ, अमेरिकी नाकाबन्दी हटाइनेछ र इरानको आणविक कार्यक्रमबारे ६० दिनको वार्ता सुरु हुनेछ ।
यद्यपि, हिजो पनि अमेरिकी सेनाले होर्मुज जलसन्धितर्फ जाँदै गरेका इरानी ड्रोनहरू खसालेको एक स्रोतले रोयटर्सलाई जानकारी दियो । ती ड्रोनहरूले व्यापारिक यातायातमा खतरा निम्त्याएका थिए ।
अमेरिकी सेन्ट्रल कमान्डले पछि यो कारबाहीको पुष्टि गर्दै जलसन्धि पारवहनका लागि खुला रहेको जनायो । इरानी समाचार एजेन्सीहरूले जलसन्धिनजिक इरानको सिरिक बन्दरगाह र केश्म टापुमा विस्फोटका आवाजहरू सुनिएको रिपोर्ट गरे ।

स्थानीय बासिन्दा र अधिकारीहरूले यी विस्फोट क्रान्तिकारी गार्ड नौसेनाको अनुमतिबिना जलसन्धि पार गर्न खोज्ने जहाजहरूलाई चेतावनी दिन गोली चलाउँदा भएको बताए ।
यस सम्झौताको मस्यौदा धेरै स्रोतहरूले रोयटर्स, पोलिटिको, बीबीसी र एक्सियोसलाई विवरण दिएका छन् । यद्यपि केही विवरणमा भिन्नता छ, समग्र ढाँचा स्पष्ट छ ।
सम्झौताको पहिलो र सबैभन्दा तात्कालिक बुँदा, होर्मुज जलसन्धि पुनः खोल्ने र अमेरिकाको इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने हो । यी दुई कदम लगभग एकैसाथ लागु हुने बताइएको छ । जलसन्धि पुनः खुलेपछि ३० दिनभित्र युद्धपूर्वको अवस्थाजस्तै जहाज आवागमनको मात्रामा फर्कने लक्ष्य राखिएको छ ।
त्यसपछि ६० दिनको वार्ता अवधि सुरु हुनेछ । यस अवधिमा इरानको आणविक कार्यक्रमबारे विस्तृत वार्ता हुनेछ । मुख्य विषय भनेको इरानको संवर्धित युरेनियम भण्डारको व्यवस्थापन हो ।
अमेरिकी अधिकारीहरूका अनुसार, यस सम्झौताले इरानलाई आणविक हतियार कहिल्यै हासिल नगर्ने प्रतिबद्धता गराउनेछ । इरानले परमाणु अप्रसार सन्धिमा पाँच दशकभन्दा बढी समयअघि नै यस्तो प्रतिज्ञा गरेको थियो ।
तर, हालैका वर्षहरूमा आणविक अग्रगतिले त्यो प्रतिबद्धतामाथि प्रश्नचिह्न खडा गरेको थियो । अमेरिकाले यसपटक आणविक कार्यक्रमको विघटन र अत्यधिक संवर्धित युरेनियम भण्डार नष्ट गरी हटाइनुपर्ने माग राखेको छ ।









