च्याटजिपिटी संवादका कारण गयो युवतीको ज्यान, एआई विरुद्ध मुद्दा

क्यानडाकी २४ वर्षीया वेब डेभलपर एलिस क्यारियरको आत्महत्यापछि उनकी आमाले च्याटजिपिटी निर्माता कम्पनी ओपनएआई र उसका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानविरुद्ध अमेरिकामा मुद्दा दायर गरेकी छन् ।

मुद्दामा एलिसले आत्महत्यासम्बन्धी विचार र योजनाका बारेमाक बारम्बार च्याटजिपिटीसँग कुराकानी गर्दा समेत कम्पनीले आवश्यक हस्तक्षेप नगरेको आरोप लगाइएको छ ।

मोन्ट्रियलमा बस्दै आएकी एलिस मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । उनी औषधोपचार र नियमित मनो परामर्शमा रहे पनि एक्लोपन र निराशाका अनुभूतिबारे च्याटजिपिटीसँग लामो समयसम्म कुराकानी गर्ने गर्थिन् ।

अदालतमा दर्ता गरिएको उजुरीअनुसार उनले ४० पटकभन्दा बढी आत्महत्यासम्बन्धी विषयमा च्याटबोटसँग संवाद गरेकी थिइन् ।

सन् २०२५ जुलाई २ मा एलिसले आत्महत्या गरिन् । त्यसअघि उनले आमासँग सामान्य कुराकानी गरेकी थिइन् र परिवारले कुनै असामान्य सङ्केत पाएका थिएनन् । पछि उनकी आमाले छोरीका मोबाइल लगायतका सामाग्री जाँच गर्दा च्याटजिपिटीसँग भएका संवेदनशील संवादहरू फेला पारेकी थिइन् ।

४४ पृष्ठ लामो उजुरीमा ओपनएआईले आत्महत्याको जोखिम देखिने स्पष्ट सङ्केतहरू हुँदाहुँदै पनि परिवार वा उद्धार सहायता सेवाहरूमा जानकारी नदिएको आरोप लगाइएको छ ।

उजुरीअनुसार च्याटजिपिटीले सुरुमा सङ्कट सहायता केन्द्रमा सम्पर्क गर्न सुझाव दिए पनि पछि त्यसलाई निरुत्साहित गर्ने खालका प्रतिक्रिया दिएको थियो । आत्महत्याभन्दा केही घण्टाअघि च्याट बोटले ‘सायद यो अन्तिम नै हो’ भन्ने भाव झल्किने प्रतिक्रिया दिएको दाबी गरिएको छ ।

ओपनएआईले भने यो अत्यन्त दुःखद घटना भएको बताउँदै सम्बन्धित संवादहरू अहिले उपलब्ध नभएको पुरानो संस्करणको च्याट जीपीटी भएको जनाएको छ ।

कम्पनीका अनुसार हालका मोडेलहरूमा आत्महत्यासम्बन्धी जोखिम पहिचान गर्ने र प्रयोगकर्तालाई वास्तविक सहयोगको मार्गदर्शन गर्ने सुरक्षा उपायहरू थप सुदृढ बनाइएको छ ।