ट्रम्पको जन्म दिनमा इरानसँग युद्ध अन्त्य गर्ने सम्झौता

अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौता गरेका छन्। वार्तामा मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गरी दुई देशबिच युद्ध अन्त्यको सहमति भएको घोषणा गरेका हुन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग सम्झौता भएको घोषणा गरेका छन्।इरानका उपविदेशमन्त्रीकाजेम घरिबाबादीले पनि यसको पुष्टि गरेका छन्।

बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी यस अवसरको सदुपयोग गर्दै अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग काम गर्ने उल्लेख गरेका छन्। ‘हामी संयुक्त राज्य अमेरिका, इरान, पाकिस्तान, कतार र संलग्न सबै पक्षलाई यस कूटनीतिक सफलताका लागि बधाई दिन्छौँ।’ उनीहरुले भनेका छन् । सम्झौताअन्तर्गत होर्मुज स्ट्रेट पुनः खोल्ने तय भएको छ।

इरानका उपविदेशमन्त्री घरिबाबादीले अमेरिका र इरानबिच समझदारीपत्रको मस्यौदामा सहमति जुटाउन कतारी मध्यस्थकर्ताहरूले तेहरानमा झन्डै १५ घण्टा लामो वार्ता भएको बताएका छन्।

उपविदेशमन्त्री घरिबाबादीले अन्तिम सम्झौतामा वार्ता ६० दिनसम्म गरिने बताएका छन्। यस क्रममा इरानले धेरै मुद्दामा छलफल गर्ने र पहिलो प्राथमिकता इरानविरुद्धका सबै प्रतिबन्ध हटाउनु भएको उनको भनाइ छ।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिका र इरानबिच शान्ति सम्झौताले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने उनको दाबी छ। सरिफले विज्ञप्ति जारी गरी उक्त सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा आधिकारिक रूपमा हस्ताक्षर हुने बताएका छन्।

अमेरिकाका डोनाल्ड ट्रम्पले पनि भनेका छन्, ‘शुक्रबार सम्झौतामा हस्ताक्षर भएपछि तेल यातायात पुनः सुरु हुनेछ।’ बीबीसीका अनुसार यो घोषणा ट्रम्पको ८०औँ जन्मदिनमा भएको हो, यद्यपि सम्झौताको पूर्ण विवरण अझै उपलब्ध छैन।