कावासोतिका स्कुले विद्यार्थीको अपूर्व सिकाई, रोबोटदेखि उतपादनसम्म (भिडियोसहित)

बोमलाल गिरी
नवलपुर, असार ८ गते । “नमस्कार, नयाँ युगको प्रविधिमा तपाईंलाई स्वागत छ !” कावासोती–१७ ढोकीको त्रिभुवन बाल माध्यमिक विद्यालयको परिसरमा प्रवेश गर्ने जोकोहीलाई यस्ता शब्दले स्वागत गर्छिन् ‘राधा’। उनी विद्यालयकी शिक्षिका वा कर्मचारी होइनन्, शिक्षक र विद्यार्थीले मिलेर बनाएको रोबोट हुन् ।

गाउँकै सामुदायिक विद्यालयमा रोबोटले स्वागत गरेको दृश्य धेरैका लागि अनौठो लागिरहेको छ । तर अहिले कावासोतीका विद्यालयहरूमा यस्तै नयाँ अभ्यासहरू सुरु भएका छन । विद्यार्थीहरुले कतै रोबोट बनाइरहेका छन्, कतै बायोग्यास उत्पादन गरिरहेका छन्, त कतै बेसार प्रशोधन तथा कतै क्यान्डी, तरकारी र फलफूल उत्पादनमा जुटेका छन् ।

गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमले विद्यालय शिक्षालाई कक्षा कोठाबाट उत्पादन र प्रयोगसँग जोड्ने प्रयास गरेको छ । नगरपालिका भित्रका २३ विद्यालयमा सञ्चालन भएका परियोजनाले विद्यालयलाई पढाइ हुने ठाउँ मात्र नभई सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेको देखिन्छ ।

कावासोती नगरपालिका, जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र पत्रकारसहितको टोलीले आइतबार विभिन्न सातवटा विद्यालयमा अनुगमन गरेका छन् । सामुदायिक विद्यालयहरु परीक्षा, कागजी नतिजा र प्रमाणपत्रमा मात्र सीमित भएको भनेर आलोचित हुँदै आएको बेला कावासोती नगपालिकामा सन्चालन गरिएको यो कार्यक्रमले परम्परागत सोचलाई बदल्ने प्रयास थालेको ‘मेरो विद्यालय उत्पादन र आविसकारको जग’ कार्यक्रमका संसोजक एवं शिव नमूना माविका सहायक प्रधानाध्यापक दिपक विष्टले बताए । कावासोतीका विद्यालयहरुले कृषि, वातावरण, प्रविधि, नविकरणीय ऊर्जा तथा उद्यमशीलतासँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको उनको भनाइ छ ।

कक्षा कोठादेखि उत्पादनसम्म
नगरपालिका अन्तर्गतका २३ वटा विद्यालयले सुरु गरेका कार्यक्रमहरुले विद्यार्थीलाई अब कक्षा कोठामा मात्र सीमित नराखेर उत्पादनसँग जोडन सुरु गरेका छन् । विद्यालहरुले कम्पोस्ट बिन निर्माण, सोलार ड्रायर निर्माण तथा ड्राइफुड उत्पादन, फलफूल नर्सरी स्थापना, जैविक मल तथा नर्सरी निर्माण, मौसमी तथा बेमौसमी तरकारी उत्पादन, कालो हलेदो खेती तथा प्रशोधन, एकीकृत हरितगृह र जैविक विषादी निर्माण सुरु गरेका छन् ।

त्यस्तै ‘वेस्ट टु वेल्थ’ स्मार्ट इरिगेसन, किचेन गार्डेन, बायोग्यास र गड्यौला मल उत्पादन, बेसारको व्यावसायीकरणका लागि नवीकरणीय ऊर्जामा आधारित प्रशोधन इकाई, इको पोखरी निर्माणमा विद्यार्थीलाई जोडन सुरु गरेको नगरपालिकाको शिक्ष, युवा तथा खेलकुद शाखा अधिकृत राजन पाण्डेले बताए । यस्ता परियोजनाले विद्यार्थीलाई पढ्ने मात्र नभई उत्पादनको संस्कार सिकाउने उनको भनाइ छ ।

प्रविधिमा नयाँ सम्भावना
परियोजना अन्तर्गत त्रिभुवन बाल माध्यमिक विद्यालयले रोबोटिक्स प्रविधिमार्फत सिकाइ र सीप विकास कार्यक्रम सञ्चालन गरेको छ । यस अन्र्तगत विद्यालयका शिक्षक र विद्यार्थी मिलेर ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन । कम बजेटमा बनाएका यो रोबोट निमार्ण गर्ने परियोजनाले विद्यार्थीलाई रोबोटिक्स प्रविधिको आधारभूत ज्ञान मात्रै दिएको छैन, आगामी दिनमा यस्ता प्रविधिको क्षेत्रमा अगाडी बढने प्रेरणासमेत दिएको विद्यालयका विज्ञान शिक्षक सुजन पोख्रेलले बताए ।

कक्षा ९ मा अध्ययनरत समृद्धि पोख्रेलका लागि यो अनुभव नयाँ थियो । “पहिला रोबोट फिल्म र इन्टरनेटमा मात्र देखेकी थिए, अहिले आफैं रोबोट बनाउने र चलाउने काममा सहभागी हुन पाएकोमा धेरै रमाइलो लागेको छ,” उनले भनिन् ।

नगर भित्रैकै अर्को कालिका माध्यमिक विद्यालयले परियोजना अन्तर्गत इनोभेसन ल्याबको अवधारणा अगाडी सारेको छ । विद्यालयमा इनोभेसन ल्याब स्थापना गरेर श्रव्य दृश्य सामाग्री उत्पादन गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक मिनबहादुर लामाले बताए ।

स्थानीय स्रोत–साधनको उपयोग
यसरी सन्चालन गरिएका परियोजनाहरूको अर्को विशेषता भनेको स्थानीय स्रोत–साधनको उपयोग हो । स्थानीय रूपमा उत्पादन हुने बेसार, फलफूल तथा कृषि उपजलाई प्रशोधन गरेर बजारीकरण गर्ने योजना प्रस्तुत गरिएका छन् । कावासोती १३ मा रहेको पिठौली आधारभूत विद्यालयले बेसारको व्यावसायीकरणका लागि नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन इकाई स्थापना गरेको छ ।

गोसाइँबाबा आधारभूत विद्यालयले अम्बा र बेसार खेती तथा प्रशोधन इकाई सञ्चालन गर्ने योजना बनाएको छ । यसले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

दीपेन्द्र आधारभूत विद्यालय, जनकल्याण माविले सोलार ड्रायर, नेपाल राष्ट्रिय आधारभूत विद्यालयले, बायोग्यास प्लान्ट, महाराजा आधारभूत विद्यालयले कम्पोष्ट बिन, नवदुर्गा आधारभूत विद्यालयले फलफूल नसृरी, शिव माविले कुहिने फोहोरलाई प्राङगारिक मल तयार ितथा नर्सरी निर्माण, जनविकास आधारभुत विद्यालयले कम्पोष्ट मल तथा सानो बैज्ञानिक उपकरण निर्माण गरेको छ ।

त्यस्तै जीवनज्योती माविले बेसार खेती र प्रसोधन इकाइ, शदिद स्मृती माविले प्लास्टिक टनेलमार्फत मौसमी र बेमौसमी तरकारी उत्पादन, सरस्वती मााविले कालो हलेदो खेती तथा प्रसोधन, कालिका माविले डिजिटल इनोभेसन ल्याव, जनता माविले एकीकृत हरितगृह निर्माण, ज्ञानोदय माविले जैविक विषादी निर्माण, जनकल्याण माविले वेष्ट टु वेल्थ स्मार्ट सिंचाई, जनता माविले एकीकृत हरितगृह निर्माण, शान्ति निकुञ्ज माविले गड्यौला मल उत्पादन, चण्डेश्वर माविले इको पोण्ड निर्माण गरेका नगरपालिकाले जनाएको छ ।

कृषिलाई प्रविधिसँग जोड्ने प्रयास
छनोट भएका अधिकांश परियोजना कृषि तथा कृषि–आधारित उद्यमसँग सम्बन्धित छन् । हरितगृह निर्माण, नर्सरी स्थापना, जैविक विषादी उत्पादन, गड्यौला मल निर्माण, बेसार खेती तथा प्रशोधन जस्ता परियोजनाले स्थानीय कृषि उत्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालय स्तरमै कृषि उद्यमको अभ्यास हुँदा विद्यार्थीले आधुनिक खेती, उत्पादन व्यवस्थापन र बजारको आधारभूत ज्ञान प्राप्त गर्नेछन् । यसले भविष्यमा स्वरोजगार र उद्यमशीलताको बाटो खोल्न सक्ने पाण्डेको भनाइ छ ।

विशेष गरी ‘वेस्ट टु वेल्थ स्मार्ट इरिगेसन किचेन गार्डेन प्रोजेक्ट’, ‘इको पोण्ड निर्माण’, ‘बायोग्यास उत्पादन’ तथा ‘नवीकरणीय ऊर्जामा आधारित प्रशोधन इकाई’ जस्ता परियोजनाले वातावरणीय संरक्षण र दिगो विकासका विषयलाई समेत प्राथमिकतामा राखेको पाण्डेले बताउनुभयो ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाले उत्कृष्ट काम गर्ने विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरेको छ । परियोजनाको मूल्यांकनपछि उत्कृष्ट तीन विद्यालयलाई जनही एक लाख रुपियाँका दरले पुरस्कार प्रदान गरिने पाण्डेले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट १० परियोजनाको नेतृत्व गर्ने शिक्षकलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । यसले विद्यालय र शिक्षकलाई अझ सिर्जनशील र जिम्मेवार ढंगले काम गर्न प्रेरित गर्ने नगरपालिकाको विश्वास छ ।

हेर्नुहोस् भिडियो