भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ । हजारौं मानिस सम्पर्कविहीन छन् ।
स्थानीय समयअनुसार बुधबार साँझ ६:०४ बजे ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए । भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ । राजधानी कराकाससहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छ । सडक यातायात पनि अवरुद्ध भएको छ । बिजुली, खानेपानी, सन्चार जस्ता न्यूनतम सुविधाबाट पनि स्थानीय बन्चित भएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प क्यारिबियन तटस्थित मोरोन शहरको पश्चिम क्षेत्रमा २२ किलोमिटर गहिराइमा गएको थियो । लगत्तै ७.५ रेक्टर स्केलको दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा आएको थियो ।
त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै थिए । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लगातार दुई ठूला भूकम्प आउँदा क्षति व्यापक भएको विज्ञहरूले बताएका छन् ।
अधिकारीहरुका अनुसार राजधानी काराकासको उत्तरमा रहेको तटीय क्षेत्र ला ग्वाइरामा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ रहेको देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि बन्द गरिएको छ, जसका कारण उद्धार र राहत कार्य प्रभावित भएको छ ।
अधिकारीहरुले खोज तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । कतिपय भूकम्प पीडित आफैं भग्नावशेष हटाएर आफन्तको खोजीमा जुटेका छन् । राजधानी बाहिर सरकारी उद्धार टोलीको उपस्थिति निकै न्यून देखिएको स्थानीयहरूले बताएका छन् । धेरै परिवार आफन्तको खोजीमा सडकमा भौतारिरहेका छन्।
टेलिभिजन च्यानलहरुले भग्नावशेषबाट जीवित मानिसहरूको उद्धार गरिएका दृश्य र आफन्तको छटपटाहटको हृदयविदारक दृष्य प्रसारण गरिरहेका छन् । ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो ।
अमेरिका, मेक्सिको, ब्राजिल, कतार, स्पेन, पोर्चुगल र क्यानडालगायत देशहरूले राहत सामग्री र उद्धार टोली भेनेजुएला पठाउने घोषणा गरेका छन् । विभिन्न देशबाट चिकित्सकीय सामग्री, खोजीका लागि तालिमप्राप्त कुकुर, पानी शुद्धीकरण उपकरण, विमान तथा ड्रोन भेनेजुएला पठाउने तयारी भइरहेको छ ।









