रोमाञ्चक बन्दै गोल्डेन बुटको दौड: एम्बाप्पेले मेस्सीलाई उछिने

नकआउट चरणका खेलमा फ्रान्सका कप्तान केलियन एम्बाप्पे र नर्वेका कप्तान एर्लिङ हालान्डले प्रभावशाली प्रदर्शन गर्दै २ २ गोल गरेपछि फिफा विश्वकप २०२६मा गोल्डेन बुटको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ ।

एम्बाप्पेले बुधवार विहान स्वीडेनविरुद्ध २ र हालाण्डले आइभरी कोष्टविरुद्ध गएराति २ गोल गरेपछि एम्बाप्पेको गोल संख्या ६ र हालाण्डको ५ पुगेको छ । यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ६ गोल गरेका थिए । अहिले मेस्सी र एम्बाप्पेको समान ६ गोल र हालाण्डको ५ गोल छ ।

 फ्रान्सका एम्बाप्पे ६ गोल र २ असिस्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । अर्जेन्टिनाका मेसीले पनि ६ गोल गरेका छन्, तर उनले अहिलेसम्म कुनै असिस्ट दिएका छैनन् । तर उनले एम्बाप्पे भन्दा एक खेल कम खेलेका छन् ।

नर्वेका एर्लिङ हालान्ड ५ गोलसहित तेस्रो स्थानमा छन् । फ्रान्सकै उस्मान डेम्बेलेले ४ गोल र २ असिस्ट गरेका छन् भने ब्राजिलका भिनिसियस जुनियरले ४ गोल र १ असिस्ट गरेका छन् । नकआउट चरणमा प्रवेशसँगै मेसी र एम्बाप्पे बीचको गोल्डेन बुट प्रतिस्पर्धा विश्व फुटबलकै प्रमुख आकर्षण बनेको छ । आगामी खेलहरूले सर्वाधिक गोलकर्ताको यो रोचक दौड कसको पक्षमा जाने हो भन्ने निर्धारण गर्नेछ ।

फिफा विश्वकपको अन्त्यमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुट पुरस्कार प्रदान गरिन्छ । यदि दुई वा सोभन्दा बढी खेलाडीको गोल संख्या बराबर भएमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी विजेता बन्छ । गोल र असिस्ट दुवै बराबर भएमा कम समय मैदानमा बिताएर ती उपलब्धि हासिल गर्ने खेलाडीलाई पुरस्कार प्रदान गरिन्छ ।

एम्बाप्पे हालका गोल्डेन बुट विजेता हुन् । उनले कतारमा सम्पन्न सन् २०२२ को विश्वकपमा ८ गोल गर्दै यो सम्मान जितेका थिए ।
हाल विश्वकप खेलिरहेका इंग्ल्यान्डका ह्यारी केन र कोलम्बियाका हामेस रोड्रिगेज दोस्रो पटक गोल्डेन बुट जितेका छन।
केनले सन् २०१८ को रुस विश्वकप तथा रोड्रिगेजले सन् २०१४ को ब्राजिल विश्वकपमा सर्वाधिक गोलकर्ताको सम्मान जितेका थिए । विश्वकप इतिहासमा कुनै पनि खेलाडीले एकभन्दा बढी पटक गोल्डेन बुट जित्न सकेको छैन ।

एकै संस्करणको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्टेनको नाममा छ । उनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकपमा १३ गोल गरेका थिए ।

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी लियोनल मेसी हुन्, जसले १९ गोल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी किलियन एम्बाप्पेका नाममा १८ गोल छन् । जर्मनीका मिरोस्लाभ क्लोसले १६ गोल गरेका छन् भने ब्राजिलका रोनाल्डोले १५ गोल गरेका छन् ।  जर्मनीका गेर्ड मुलरले १४ गोल गरेका थिए ।