बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित ६ जनालाई सफाइ दिएको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलामा प्रमाण नपुगेको भन्दै उनीहरूलाई सबै अभियोगबाट सफाइ दिने निर्णय गरिएको हो ।
अदालतले सन्दीप रायमाझीसँगै पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि सफाइ दिएको छ। उनीहरू विरुद्ध लगाइएको ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा संलग्नता पुष्टि हुने आधार नदेखिएको फैसलामा उल्लेख छ।
सन्दीपको बैंक खातामा रकम जम्मा भएको देखिए तापनि त्यो रकम व्यवसायिक प्रयोजन (शेयर खरिदबिक्री) सँग सम्बन्धित रहेको भन्दै अदालतले उनलाई दोषी ठहर गर्न नमिल्ने फैसला गरेको हो।
सफाइ पाउने अन्य प्रतिवादीहरूमा रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर, टंक कुमार गुरुङ र आशिष बुढाथोकी रहेका छन्। लक्ष्मी
महर्जन र केशव तुलाधरको हकमा बैंक खाताको दुरुपयोग भएको देखिए पनि उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभएको र टंक कुमार गुरुङको हकमा उनको रेष्टुरेन्टमा बैठक भएको भन्ने बाहेक अन्य प्रमाण फेला नपरेको अदालतले जनाएको छ।
त्यस्तै, प्रतिक थापाका विरुद्ध सरकारी पक्षले पेश गरेका प्रमाणहरू खण्डित भएको र बयानका आधारमा मात्र कसूरदार मान्न नसकिने फैसलामा उल्लेख छ।
यसै प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण र टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू भने दोषी ठहर भएका छन्। अदालतले रायमाझीलाई मुख्य कसूरदार ठहर गरे पनि उनका छोरा सन्दीपलाई भने निर्दोष सावित गरेको हो।









