ईङ्ल्याण्डलाई स्तब्ध पार्दै अर्जेन्टिना विश्व कपको फाइनलमा

इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

एक गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गर्यो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।

खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, अन्तिम समयमा इंग्ल्यान्डले अग्रता जोगाउन सकेन ।

८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले डिबक्सबाहिरबाट गरेको प्रहार गोल हुँदा अर्जेन्टिना खेलमा फर्कियो ।

दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । अव अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग खेल्ने छ ।