सुस्तामा नारायणी नदी व्यवस्थापनमा उदाहरणीय काम

जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय मात्र होइन, असम्भव ठानिएका काम पनि सम्भव हुन्छन् भन्ने उदाहरण पश्चिम नवलपरासीको सुस्तामा भइरहेको एकीकृत नदी व्यवस्थापन तथा बाढी नियन्त्रण कार्यले प्रस्तुत गरेको छ। भौगोलिक विकटता, बढ्दो प्राविधिक चुनौती र सीमित समयका बीच सुस्तामा सम्पन्न भइरहेको कामले राज्यका निकाय र कर्मचारी संयन्त्रप्रति नागरिकको भरोसा बढाएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका कार्यालय प्रमुख डा.नारायणप्रसाद सुवेदीका अनुसार सङ्घीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा सञ्चालन भइरहेको यो आयोजनाले सुस्ताको भूगोल र आवश्यकतालाई ध्यानमा राखेर विशेष प्रविधि प्रयोग गरेको छ। करिब एक किलोमिटर लम्बाइको यस आयोजनामा छोटो समयमै जटिल परिस्थितिका बाबजुद टोलीको अहोरात्र खटाइ र स्थानीय समन्वयका कारण कामले अपेक्षाभन्दा राम्रो गति लिएको उनले बताए ।

प्राविधिक रूपमा नदीको छ–सात मिटरभन्दा बढी गहिराइ र वर्षायाममा पानीको बहाव बढ्दा ढुङ्गासमेत बगाउने अवस्थाबिच टोलीले चुनौती सामना गरेको थियो। ६ मिटरभन्दा बढी गहिरो किनारमा तीन तहभन्दा बढीको आरसीसी परकुपाइन, आरसीसी पोल, स्यान्ड ब्याग, जियो ब्याग र ग्याबियन रिभेटमेन्टको मिश्रण प्रयोग गरी करिब नौ मिटरसम्म गहिराइमा पुगेर काम गरिएको छ।

छोटो अवधिमा चौबीसै घण्टा खटिएर सुस्तामा भएको यो कामले जिम्मेवारीपूर्वक काम गर्ने शैली र जवाफदेहिताको उदाहरण प्रस्तुत गरेको छ। इन्जिनियर बेलसहितको टोली र आयोजना प्रमुख डा. नारायणप्रसाद सुवेदीको नेतृत्वमा भएको यो प्रयासले निराशामा आशा र अविश्वासमा विश्वास जगाएको स्थानीयको भनाइ छ। यस सफल व्यवस्थापनले सरकार र राज्यका संयन्त्रप्रति नागरिकको भरोसासमेत थप बलियो बनाएको छ।