फ्रान्समाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड बन्यो तेस्रो

२०२६ फिफा विश्वकपको तेस्रो स्थानका लागि भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा इंग्ल्याण्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै ‘ब्रोन्ज मेडल’ जितेको छ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा कुल १० गोल भयो । खेलको सुरुवातदेखि नै इंग्ल्याण्डले फ्रान्समाथि दबाब बनाएको थियो ।

खेलको तेस्रो मिनेटमै कप्तान डिक्लन राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको केही समयपछि १८ औं मिनेटमा एज्री कोन्साले हेडमार्फत दोस्रो गोल गरे।

पहिलो हाफ इंग्ल्याण्डको पूर्ण नियन्त्रणमा रहँदा बुकायो साकाले ३७ औं र ४५+१ मिनेटमा दुई गोल थपे । यससँगै इंग्ल्याण्ड मध्यान्तरसम्म ४–० को सहज स्थितिमा पुगेको थियो।

तर, दोस्रो हाफमा फ्रान्सले नाटकीय पुनरागमनको प्रयास गर्‍यो। केलियन एमबाप्पेले ४८ औं र ६६ औं मिनेटमा दुई गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत आफ्नो नाममा गरे । यसैबीच ५४ औं मिनेटमा बी. बारकोलाले अर्को गोल थपेपछि खेल ४–३ को रोमाञ्चक मोडमा पुग्यो।

खेलको अन्त्यतिर तनाव झनै बढ्यो। ८७ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पुरा गर्दै इंग्ल्याण्डलाई ५–३ को स्थितिमा पुर्‍याए।

साका विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने सर जोफ हर्स्टपछिको दोस्रो इंग्लिस खेलाडी बनेका छन्। थपिएको समयको छैटौं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई ५–४ मा ल्याएर फ्रान्सेली आशा जीवितै राखेका थिए।

यद्यपि, खेलको अन्तिम समयमा जुड बेलिङ्घमले गोल गरेपछि इंग्ल्याण्डले ६–४ को जित सुनिश्चित गर्‍यो। थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्याण्डले यो जितसँगै विश्वकपमा तेस्रो स्थान सुरक्षित गरेको छ।

पराजित भए पनि कुल १० गोल गरेका एमबाप्पे गोल्डेन बुटको दौडमा अगाडि रहेका छन्।