नवलपुरमा बढे अपराधका घटना

जिल्ला प्रहरी कार्यालय नवलपुरमा असार महिनाभर ६० वटा आपराधिक मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न ४९ जना प्रतिवादी पक्राउ परेका छन्।

नवलपुर प्रहरीले सार्वजनिक गरेको मासिक कार्यप्रगति विवरणअनुसार जिल्लामा जबरजस्ती करणी, लागूऔषध, चोरी, आत्महत्या तथा सवारी दुर्घटनाका घटना प्रमुख रूपमा देखिएका छन्।

प्रहरीका अनुसार दर्ता भएका ६० मुद्दामध्ये ११ वटा जघन्य तथा गम्भीर अपराध, १० वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, २ वटा आर्थिक अपराध र ३७ वटा अन्य प्रकृतिका छन्।

मुद्दाको प्रकृतिअनुसार सबैभन्दा धेरै ८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। लागूऔषध र चोरीका ६–६ वटा, सवारी दुर्घटना, झुण्डिएर मृत्यु तथा अभद्र व्यवहारका ५–५ वटा, फुटकर ज्यानका ४ वटा, बैंकिङ कसुरका २ तथा बहुविवाह, नदीमा हाम फाली मृत्यु, पशुपक्षी, हातहतियार र राहदानी सम्बन्धी १–१ वटा मुद्दा दर्ता भएका छन्।

असार महिनामा लागूऔषध सम्बन्धी ६ वटा मुद्दा दर्ता भई ८ जना पुरुष पक्राउ परेका छन्। प्रहरीले प्रोक्सिमेक स्पास, बुप्रेनोर्फिन, फेनरगन, डाइजेपाम, ट्रामोल र अनारगन लगायतका औषधिजन्य लागूऔषध बरामद गरेको जनाएको छ।

असारमा जिल्लाभर ५ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये ३ जना १८ वर्षमुनिका, २ जना ४०–६० वर्ष उमेर समूहका, १ जना १८–४० वर्षका र १ जना ६० वर्षभन्दा माथिका रहेका छन्। मृतकमध्ये ३ जना महिला र ४ जना पुरुष छन्। दुर्घटनामध्ये ३ वटा गैँडाकोट नगरपालिका, १ वटा कावासोती नगरपालिका र १ वटा देवचुली नगरपालिकामा भएका थिए।

गैंडाकोटमा सबैभन्दा बढी अपराध

पालिकागत तथ्याङ्कअनुसार सबैभन्दा धेरै १७ वटा अपराध गैँडाकोट नगरपालिकामा दर्ता भएका छन्। कावासोतीमा १८, बुलिङटार गाउँपालिकामा १४, विनयी त्रिवेणीमा ८, देवचुली र मध्यविन्दुमा ५–५, हुप्सेकोटमा २ र बौदीकालीमा १ घटना दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ।

प्रहरीले विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ गरेको छ। उनीहरूबाट ८ वर्ष ५ दिन २८ दिन कैद र ४ हजार १ सय ६० रुपैयाँ जरिवाना कार्यान्वयन गरिएको छ।

हराएका ३० मध्ये २० जना फेला
असार महिनामा ३० जना हराएको निवेदन परेकोमा २० जना फेला पारिएको र १० जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ भने घरेलु हिंसाको १ उजुरी दर्ता भएकोमा मिलापत्रमार्फत समाधान गरिएको छ।

प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ११६ वटा उजुरी परेका थिए। तीमध्ये १०४ वटा फर्छ्योट भएका छन् भने १२ वटा प्रक्रियामा रहेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आएका २ वटा उजुरी पनि फर्छ्योट गरिएको छ।