गैँडा मार्न जंगल छिरेको भन्दै दुई जनालाई नवलपुरबाट पक्राउ गरी मुद्धा दर्ता

नवलपुर, साउन ५ गते । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा दुर्लभ एकसिंगे गैँडा मार्ने उद्देश्यले प्रवेश गरेका दुई जनालाई पक्राउ गरी नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका–१ का ६८ वर्षीय खड्ग नारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ का ५२ वर्षीय टेकबहादुर मगर रहेका निकुञ्जले जनाएको छ ।

गत असार २३ गते निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा दुई जनालाई पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट भरुवा बन्दुक १ थान, गोलीगट्टा, बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरिएको थापाले जानकारी दिनुभयो । त्यसपछि गरिएको खानतलासीका क्रममा खड्ग नारायण चौधरीको घरबाट बाघको दाँत जस्तो देखिने आखेटोपहार, अर्को भरुवा बन्दुक, पाँच सय भारतीय रुपैयाँका १३६ वटा नोट लगायत सामग्रीसमेत बरामद गरिएको निकुञ्जले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू संरक्षित वन्यजन्तु एकसिंगे गैँडा मार्ने प्रयास तथा संरक्षित वन्यजन्तुको आखेटोपहार (गैंडाको दाँत) खरिद–बिक्री मा संलग्न रहेको आरोप लागेको छ । निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५) र दफा २६ (१) बमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको जनाएको छ ।