जमिन भासिएपछि राम्चेवासी त्रासमा

नवलपुर, साउन ५ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका-५ राम्चेमा जमिन भासिएपछि राम्चेवासी त्रासमा रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार साँझ रुपकला प्राधमिक विद्यालय प्राङ्गण र नजिकैको जमिन भासिएपछि सात जनाको परिवारलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दा पनि मानेका छैनन् ।

सात परिवारको घर वरिपरिको जमिन भासिएको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिइ सम्झाई-बुझाई उनीहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

श्रीलाल सिंजाली, मन बहादुर सिंजाली, इन्द्र बहादुर सिंजाली, सम बहादुर राई मगर, विर बहादुर सिंजाली, श्याम बहादुर राई मगर र भुपाल सिंजालीका परिवारलाई अन्त्रै जान आग्रह गरेको पण्डितले जानकारी दिए । सात घरमा ३२ जना बसोवास गरिरहेका उनको भनाइ छ ।

शिरमा राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरोका कारण यहाँका वासिन्दा सधैभरी त्रासमा बस्ने गरेका छन् । २०३८ सालमा काउले बस्ती नै विस्थापित हुने गरी पहिरो गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताए ।

पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको उनको भनाइ छ । यहा बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ । पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन् ।

तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका रानाले बताए ।